हेटौँडाका दुई स्थानमा नेपालमा प्रतिबन्धित जुंगे (मागुर) माछा भेटिएपछि सम्बन्धित निकायले ठूलो परिमाणमा माछा बरामद गरी नष्ट गरेको छ। हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुर र क्याम्पाडाँडाको कुनाटोलस्थित पोखरीमा प्रतिबन्धित जुंगे (मागुर) माछा भेटिएको हो।
हेटौँडा माछा बजारबाट समेत करिब ३०० किलो प्रतिबन्धित जुंगे (मागुर) माछा बरामद गरी नष्ट गरिएको बताइएको छ। बरामद गरिएको माछा सम्बन्धित निकायको उपस्थितिमा खाल्डोमा पुरेर नष्ट गरिएको जनाइएको छ।
प्रतिबन्धित माछाको कारोबारमा संलग्न दुई जनालाई कुल ५ लाख रुपैयाँ जरिवाना गरिएको बताइएको छ। बरामद माछा पर्सा जिल्लाको मिलनचोक क्षेत्र आसपासमा रहेको पोखरीमा उत्पादन तथा पालन गरिएको र त्यहीँबाट हेटौँडामा ल्याइएको उनीहरूले बताएका छन्।
नेपालमा प्रतिबन्धित जुंगे (मागुर) माछाको अवैध उत्पादन, पालन तथा बिक्री–वितरण भइरहेको विषयमा स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन्। विशेषगरी पर्सा जिल्लाका विभिन्न क्षेत्रमा प्रतिबन्धित माछा पाल्ने तथा बिक्रीका लागि अन्य जिल्लामा पठाउने गतिविधि भइरहेको भन्दै स्थानीयले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
स्थानीयका अनुसार प्रतिबन्धित माछाको अवैध उत्पादन तथा कारोबारले वातावरणीय सन्तुलनमा असर पार्नुका साथै आम उपभोक्ताको स्वास्थ्यमा समेत जोखिम निम्त्याउन सक्ने भएकाले यस्ता गतिविधि नियन्त्रण गर्न नियमित अनुगमन आवश्यक छ।
पर्सा जिल्लामा समेत प्रतिबन्धित जुंगे (मागुर) माछा अवैध रूपमा पालन तथा कारोबार भइरहेको भए तत्काल अनुगमन गरी त्यस्ता पोखरी तथा कारोबारमा संलग्न व्यक्तिमाथि कानुनअनुसार कारबाही गर्न स्थानीयवासीले सम्बन्धित निकायसँग माग गरेका छन्।
स्थानीयले प्रतिबन्धित माछाको उत्पादन, बिक्री–वितरण तथा ओसारपसार नियन्त्रणका लागि स्थानीय तह, कृषि तथा पशुपन्छीसम्बन्धी निकाय, सुरक्षा निकाय र अन्य सरोकारवाला निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताएका छन्।
























