
विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा लगानीकर्तालाई सुरक्षित लगानी, डिजिटल माध्यमबाट हुने ठगी तथा वित्तीय अपराधप्रति सचेत गराउने उद्देश्यले वीरगञ्जमा प्यानल छलफल तथा विद्यार्थी नाटक प्रस्तुति कार्यक्रम सम्पन्न भएको छ।
मर्चेन्ट बैंकर्स एसोसिएसन अफ नेपाल (एमबीएएन) को आयोजनामा वीरगञ्ज महानगरपालिका–आदर्शनगरस्थित सरोवर पोर्टिकोमा कार्यक्रम सम्पन्न भएको हो। ‘लगानीकर्ताको प्रतिरोध क्षमता, डिजिटल छलकपट र ठगीप्रति सतर्कता’ भन्ने मूल विषय तथा ‘आफ्नो भविष्यमा लगानी गरौँ, आजै त्यसको सुरक्षा गरौँ’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा सुरक्षित, सचेत र जिम्मेवार लगानीको महत्वबारे चर्चा गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि मधेश विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपकबहादुर शाक्य रहेका थिए। कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघ पर्साका वरिष्ठ उपाध्यक्ष माधवराज पाल, वीरगञ्ज पब्लिक कलेजका सहप्रधानाध्यापक डा. अरविन्द श्रेष्ठ, नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) वीरगञ्जका अध्यक्ष चन्दन सिंहलगायतको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रमको सुरुवात कलेजका विद्यार्थीहरूले प्रस्तुत गरेको स्वागत नृत्यबाट गरिएको थियो। त्यसपछि विद्यार्थीहरूले सुरक्षित लगानी, वित्तीय सचेतना तथा डिजिटल माध्यमबाट हुन सक्ने ठगीबाट जोगिने उपायसम्बन्धी सन्देशमूलक नाटक प्रस्तुत गरेका थिए। विद्यार्थीको प्रस्तुतिले लगानी गर्नुअघि आवश्यक जानकारी लिनुपर्ने, जोखिम बुझ्नुपर्ने र डिजिटल ठगीप्रति सचेत रहनुपर्ने सन्देश दिएको थियो।
कार्यक्रमअन्तर्गत आयोजित प्यानल छलफलमा नेपाल धितोपत्र बोर्ड (सेबोन), मर्चेन्ट बैंकर्स एसोसिएसन अफ नेपाल, वीरगञ्ज उद्योग वाणिज्य संघ तथा नेपाल युवा उद्यमी मञ्चका प्रतिनिधिहरू सहभागी भएका थिए।
छलफलमा सेबोनका निर्देशक रेवत श्रेष्ठ, एमबीएएनका कार्यकारी सदस्य तथा एनआईएमबी एस क्यापिटलका नायब प्रमुख कार्यकारी अधिकृत सचिन्द्र ढुङ्गाना, वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधवराज पाल र एनवाईईएफ वीरगञ्जका अध्यक्ष चन्दन सिंह प्यानल सदस्यका रूपमा सहभागी भएका थिए। छलफलको सहजीकरण वीरगञ्ज पब्लिक कलेजका सहप्रधानाध्यापक डा. अरविन्द श्रेष्ठले गरेका थिए।
त्यसैगरी, एमबीएएनका कार्यकारी सदस्य तथा नेपाल लाइफ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरे र सेबोनका बसन्त लामिछानेको समेत कार्यक्रममा उपस्थिति रहेको थियो। विजयलाल श्रेष्ठलगायतका व्यक्तिहरू पनि कार्यक्रममा सहभागी भएका थिए।
प्यानल छलफलमार्फत लगानीसम्बन्धी निर्णय गर्दा विश्वसनीय सूचना र आधिकारिक स्रोतको प्रयोग गर्नुपर्ने, डिजिटल माध्यमबाट आउने शंकास्पद प्रस्तावप्रति सतर्क रहनुपर्ने तथा लगानी गर्नुअघि सम्बन्धित संस्थाको वैधानिकता र जोखिमबारे जानकारी लिनुपर्ने विषयमा सचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको थियो।
विश्व लगानीकर्ता सप्ताहको अवसरमा आयोजित यस कार्यक्रमले विशेषगरी विद्यार्थी, युवा उद्यमी तथा सर्वसाधारणमा वित्तीय साक्षरता अभिवृद्धि गर्नुका साथै सुरक्षित लगानीको संस्कार विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।कार्यक्रम वीरगञ्ज पब्लिक कलेजका प्रोफेसर बासु कर्णको सहजीकरणमा सम्पन्न भएको थियो।
























