२०८३ आश्विन २३ गते शुक्रबार

वीरगञ्जमा २५ युवालाई डिजिटल मार्केटिङ तालिम सुरु

 

युवालाई डिजिटल सीप प्रदान गरी रोजगारी तथा स्वरोजगारका अवसरसँग जोड्ने उद्देश्यले वीरगञ्जमा छदिने डिजिटल मार्केटिङ तालिम सुरु भएको छ। युरोपेली संघको आर्थिक सहयोगमा सञ्चालित ‘क्रिएटिङ अपरच्युनिटिज फर युथ इन द डिजिटल इकोनोमी (CODE)’ परियोजनाअन्तर्गत शुक्रबारदेखि तालिम सुरु गरिएको हो।

वीरगञ्जस्थित साउथ सिटी कलेज अफ साइन्स एन्ड टेक्नोलोजीमा सञ्चालन भइरहेको तालिममा दलित, जनजाति, मधेसी तथा मुस्लिम समुदायका २५ जना युवा सहभागी छन्। ‘डिजिटल मार्केटिङ : सामाजिक सञ्जाल मार्केटिङ तथा सामग्री सिर्जना’ विषयमा केन्द्रित तालिमले युवालाई डिजिटल अर्थतन्त्रमा प्रतिस्पर्धी बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।

स्विसकन्ट्याक्टको नेतृत्वमा रेस्टलेस डेभलपमेन्ट नेपाल र रोबोटिक्स एसोसिएसन अफ नेपाल (र्‍यान) को साझेदारीमा सञ्चालित परियोजनाअन्तर्गत सहभागीलाई डिजिटल सामग्री निर्माण, सामाजिक सञ्जालमार्फत प्रचार अभियान सञ्चालन, ब्रान्ड प्रवर्द्धन, डिजिटल अभियानको प्रभाव विश्लेषण तथा फ्रिलान्सिङका अवसर खोज्नेसम्बन्धी व्यावहारिक सीप प्रदान गरिनेछ।

तालिमबाट प्राप्त सीपलाई श्रम बजारको मागसँग जोड्दै युवालाई रोजगारी, इन्टर्नसिप तथा स्वरोजगारका अवसरमा पहुँच पुर्‍याउने परियोजनाको लक्ष्य रहेको छ। डिजिटल प्रविधिको प्रयोगमार्फत युवालाई आत्मनिर्भर बनाउनुका साथै उद्यमशीलता विकासमा समेत तालिमले सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

जितपुर सिमरा उपमहानगरपालिकाकी महिला विकास अधिकृत सीमा यादवले डिजिटल मार्केटिङ तथा सामग्री सिर्जनासम्बन्धी सीपले उत्पादन र सेवाको प्रवर्द्धन गर्न तथा स्वरोजगार र उद्यमशीलता विकासमा सहयोग पुग्ने बताइन्।

सन् २०२६ देखि २०२८ सम्म सञ्चालन हुने CODE परियोजना मधेस प्रदेशका वीरगञ्ज, जितपुर सिमरा र पर्सागढी तथा गण्डकी प्रदेशका पोखरा, रूपा र मादी क्षेत्रमा कार्यान्वयन भइरहेको छ। विशेषगरी महिला तथा सीमान्तकृत समुदायका युवालाई लक्षित परियोजनाले डिजिटल साक्षरता, सीप विकास र रोजगारीका अवसर विस्तारमा जोड दिएको छ।

























प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM