२०८३ आश्विन २४ गते शनिबार

बिरगंजमा को–अपरेटिभ म्यानेजर्स क्लब पर्साको आठौँ साधारण सभा सम्पन्न

 

बिरगंजमा को–अपरेटिभ म्यानेजर्स क्लब (सीएमसी) पर्साको आठौँ वार्षिक साधारण सभा तथा विजया दशमी, दीपावली र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम शुक्रबार वीरगञ्जस्थित गृहलक्ष्मी साकोसको सभाहलमा सम्पन्न भएको छ।

क्लबका अध्यक्ष चन्द्रेश्वर प्रसाद चौरसियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष जिश्नु बराल प्रमुख अतिथि तथा पदेन अध्यक्ष रवि भूषण श्रीवास्तव विशेष अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रममा क्लबका उपाध्यक्ष रामबाबु चौधरीले स्वागत मन्तव्य राख्दै उपस्थित अतिथि, पदाधिकारी तथा सदस्यहरूलाई स्वागत गरेका थिए। कार्यक्रमको सञ्चालन क्लबका महासचिव प्रदीप कुमार लोहारले गरेका थिए।

सभामा क्लबको वार्षिक गतिविधि तथा प्रगतिको समीक्षा गर्नुका साथै सहकारी क्षेत्रका समसामयिक विषय, संस्थागत विकास र आगामी कार्ययोजनाबारे छलफल गरिएको थियो। साथै, सहकारी संस्थाहरूको व्यवस्थापकीय क्षमता अभिवृद्धि, पारदर्शिता, सुशासन तथा व्यवस्थापकहरूबीच आपसी समन्वय र सहकार्यलाई प्रभावकारी बनाउने विषयमा विचार आदानप्रदान गरिएको थियो।

क्लबको मूल नारा **‘व्यवस्थापकहरूको क्षमता, सहकारी संस्थामा एकरूपता’** लाई आत्मसात् गर्दै सहकारी क्षेत्रलाई व्यवस्थित, पारदर्शी, जिम्मेवार र प्रभावकारी बनाउन व्यवस्थापकहरूको व्यावसायिक दक्षता अभिवृद्धि तथा आपसी सहकार्य आवश्यक रहेकोमा सहभागीहरूले जोड दिएका थिए।

कार्यक्रममा क्लबका सचिव दीपेन्द्र श्रेष्ठ, कोषाध्यक्ष किरण ठाकुर, सदस्यहरू दीपिका श्रेष्ठ, चन्द्रशेखर प्रसाद, डी.के. जैसवाल, शिक्षा उपसमितिका सदस्य इन्दु रञ्जितकार, उमेश शाह तुरहा लगायत पदाधिकारी, सदस्य तथा विभिन्न उपसमितिका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

त्यसैगरी, क्लबका सल्लाहकार तथा प्लस वन टेलिभिजनका सञ्चालक एवं पत्रकार आशिक अन्सारी, पत्रकार उज्ज्वल शर्मा लगायत सञ्चारकर्मीहरूको समेत सहभागिता रहेको थियो।

कार्यक्रममा विजया दशमी, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान गर्दै क्लबलाई थप सक्रिय, सशक्त र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो। सहकारी व्यवस्थापकहरूबीच एकता, सहकार्य र अनुभव आदानप्रदानलाई प्रवर्द्धन गर्दै सहकारी क्षेत्रको समग्र विकासमा योगदान पुर्‍याउने विषयमा समेत जोड दिइएको थियो।

क्लबले कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रमुख अतिथि, विशेष अतिथि, सम्पूर्ण पदाधिकारी, सदस्य, सल्लाहकार, विभिन्न उपसमितिका प्रतिनिधि तथा सञ्चारकर्मीहरूप्रति धन्यवाद व्यक्त गरेको छ।

एकता, सहकार्य र सुशासन हाम्रो अभियान, सक्षम सहकारी व्यवस्थापन र समृद्ध सहकारी क्षेत्र हाम्रो लक्ष्य’भन्ने प्रतिबद्धतासहित कार्यक्रम सम्पन्न भएको क्लबले जनाएको छ।

























प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM