
पर्सा जिल्लाको एकमात्र सरकारी रेफरल अस्पताल नारायणी अस्पतालमा स्वास्थ्य बीमा योजना अन्तर्गत उपचार गराइरहेका बिरामीहरूले अत्यावश्यक औषधि नपाएर समस्या झेल्नुपरेको गुनासो बढ्दो छ। बीमा सेवा अन्तर्गत औषधि पाउने भनिए पनि बिरामीहरूलाई प्रायः आफ्नै खर्चमा औषधि किन्नुपर्ने अवस्था आएको छ।
पर्सा जिल्ला जानकीटोल निवासी सुशिला देवीका अनुसार उनले स्वास्थ्य बीमाको सुविधा प्रयोग गर्दै नारायणी अस्पतालमा उपचार गराउँदा चिकित्सकले ७ प्रकारका औषधिहरू लेखे। तर फार्मेसीमा गएपछि उनले त्यसमध्ये केवल २ प्रकारका औषधि मात्र निःशुल्क रुपमा पाएको बताइन्। बाँकी ५ वटा औषधिका लागि भने बाहिरको निजी फार्मेसीमा जान भनिएको उनले दुखेसो पोखिन्।
“बीमा गराएर अस्पताल गएका थियौं, तर काम त्यत्तिकै भयो। सस्तो औषधि पनि छैन रे। डाक्टरले लेखिदिएका सबै औषधि अस्पतालले दिन सकेन,” सुशिलाले भनिन्, “हामी जस्ता गरिबलाई बीमाको सेवा भनेको झनै खर्चिलो भएको छ।”

अस्पतालमा आउने अन्य बीमित सेवाग्राहीले पनि यस्तै समस्या अनुभव गरिरहेको बताएका छन्। कतिपयले औषधि मात्र होइन, रिपोर्ट, परीक्षण र सामान्य सेवा पाउन पनि घण्टौं लाइन बस्नुपर्ने अवस्था रहेको बताएका छन्।
यसबारे नारायणी अस्पतालका एक जना स्वास्थ्यकर्मीले नाम उल्लेख नगर्ने शर्तमा बताए अनुसार, बीमाको सूचीमा रहेका औषधि अस्पतालले उपलब्ध गराउनुपर्ने हो, तर औषधिको अभाव, ढिलो आपूर्ति र बजेट अभावका कारण सबै औषधि दिन सकिने अवस्था नरहेको बताए।
“हामी प्रयास गरिरहेका छौं, तर सबै औषधि अस्पतालमा पुग्दैन। स्वास्थ्य बीमा बोर्डबाटै औषधि समयमै नआएको र बिरामीको चाप धेरै भएकाले यो समस्या देखिएको हो,” उनी भन्छन्।
पर्सा लगायतका जिल्लामा स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारिता कमजोर बन्दै गएको देखिन्छ। सेवा लिन आउने बिरामी निराश भएर फर्किनुपर्ने अवस्था रहेकोले अब स्वास्थ्य बीमा बोर्ड, प्रदेश सरकार र संघीय स्वास्थ्य मन्त्रालयले तत्काल ध्यान दिनु आवश्यक देखिन्छ।
स्थानीय सरोकारवाला निकायहरूले पनि बिरामीको हितमा औषधि वितरण प्रणालीमा पारदर्शिता र सहजता ल्याउन पहल गर्नुपर्ने देखिन्छ।









