अभिलाष गुप्ता
चैत ३१ बिरगंज
वीरगन्जमा भएको विवाद र झडपकालाई साम्य बनाउन पाँच बुँदे सर्वपक्षिय सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा आइतबार दिनभर चलेको सर्वपक्षीय र सर्वदलीय छलफलबाट साँझ पाँच बुँदे सहमति भएको हो ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको पहल र सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा भएको छलफलमा वीरगन्जमा हनुमान जन्मोत्सवको अवसरमा शनिबार निकालिएको शोभा यात्राका क्रममा भएको झडपको घटनामा संलग्न दोषीहरुलाई बैशाख ३ गतेभित्र पक्राउ गरी कारबाही गर्ने, अन्तर धार्मिक एवं समप्रदायिक सदभाव र सहिष्णुता कायम राख्नका लागि सबै पक्ष पूर्ण प्रतिबद्ध रही कानूनी कारबाहीको प्रकृयामा सहयोग पुरयाउने सहमतिमा उल्लेख गरिएको छ ।
शनिबारको घटनामा घाइते भएकाहरुको निःशुल्क उपचारको व्यवस्था गर्ने,तोडफोड र आगजनीबाट भएका भौतिक क्षतिको क्षतिपुर्तिका लागि प्रशासनले पहल गर्ने,वीरगन्जमा अब आयोजना हुने धार्मिक एंव सांस्कृतिक सम्बन्धि कुनैपनि जात्रा,पर्व , कार्यक्रममा हातहतियारको प्रदर्शन नगर्ने सहमति पनि भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
यसैगरि वीरगन्जसहित पर्सा जिल्लामा सञ्चालित सबै धर्मका धार्मिक संस्था र ती संस्थाबाट सञ्चालित मदरशा र विद्यालयहरुमा सुक्ष्म अनुगमन गरेर अन्यथा देखिएमा कारबाहीको दायरमा ल्याउने लिखित सहमति गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए ।
उक्त पाँच बुँदे सहमतिपत्रमा उल्लेख पाँच वटै बुदाँप्रति जिल्लामा सकृय सबै राजनीतिक दलका नेता,हिन्दु र मुस्लिम समुदायका अगुवाहरुले हस्ताक्षर गरेको अर्यालले बताए ।
प्रजिअ अर्यालले शनिबार बेलुकीदेखि वीरगन्जमा लगाइएको कर्फ्यु भने आइतबार राति १२ बजेसम्म निरन्तर रहने बताए । त्यसपछि सुरक्षाका अवस्था हेरेर मात्र जिल्ला सुरक्षाको समितिको बैठकले आवश्यक निर्णय गरिने प्रजिअ अर्यालको भनाइ थियो । उनले भने राति १२ बजेपछि भने कर्फ्यु हटाएर केहि निश्चित क्षेत्रहरुमा निषेधाज्ञा जारी गर्ने सम्भावना छ।









