अभिलाष गुप्ता
वीरगञ्ज २९ बैशाख
वीरगञ्ज महानगरपालिका–८ को सहयोगमा स्वरोजगार व्यवसायिक तालिम केन्द्र, वीरगञ्ज–११ पर्साद्वारा आयोजित ४५ दिने एडभान्स ब्युटीसियन तालिम कार्यक्रमको समापन आज एक विशेष समारोहबीच सम्पन्न भएको छ।
समापन कार्यक्रममा मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत प्रमुख अतिथिको रूपमा सहभागी थिए। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, तालिम प्रशिक्षार्थी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

समारोहको अध्यक्षता वीरगञ्ज महानगरपालिका–८ का वडा अध्यक्ष रितेश कुमार गुप्ताले गरे। उनले स्वदेशमै रोजगारीको अवसर सृजना गर्न सिपमूलक तालिमहरू अपरिहार्य रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमहरूलाई आफ्नाे वडाबाट निरन्तर प्रोत्साहन गरिने प्रतिबद्धता व्यक्त गरे।
वडा अध्यक्ष गुप्ताले भने, सिप र स्वरोजगारको माध्यमबाट आत्मनिर्भर समाज निर्माण गर्न यस्ता तालिम कार्यक्रमहरू महत्वपूर्ण छन्। हामी वडाबाट यसलाई प्राथमिकतामा राखी अगाडि बढिरहेका छौं।

कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरूले तालिमबाट ब्यवसाय सञ्चालनका लागि आवश्यक ज्ञान र सीप सिक्न पाएको प्रतिक्रिया दिएका थिए।

















