२०८२ मंसिर २६ गते शुक्रबार

बिरगंजको आदर्शनगरस्थित जय बजरंगबली ट्रान्सपोर्ट गोदाममा छापा भन्सार छली गरी ल्याइएको १३ लाखभन्दा बढीको सामान बरामद

 

अभिलाष गुप्ता
वीरगंज,१६ जेष्ठ

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्सा, प्र.सि.सु.गुल्म वीरगंज र वीरगंज भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले विशेष सूचनाको आधारमा बीरगंज महानगरपालिका–१०, आदर्शनगरस्थित जय बजरंगबली ट्रान्सपोर्टको गोदाममा छापा मारेर भन्सार छली गरी चोरी पैठारी गरेर राखिएको सामान बरामद गरेको छ।

संयुक्त टोलीले भारतबाट अवैध रूपमा भित्र्याई गोदाममा राखिएको अनुमानित रु. १३ लाख ३ हजार ६ सय बराबरको कपडा, चिनी, मरिच र चकलेट नियन्त्रणमा लिएको हो। बरामद गरिएका सामानहरू आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालय, पर्सामा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी देवेन्द्र बहादुर सिंहले जानकारी दिए।

सीमावर्ती क्षेत्रमा भइरहेका अवैध ओसारपसार नियन्त्रणमा सशस्त्र प्रहरीले पछिल्लो समय उल्लेखनीय सफलता हासिल गरेको छ। विशेषगरी रातको समयमा हुने चोरी पैठारी नियन्त्रणका लागि रात्री गस्तीलाई थप सक्रिय बनाइएको सशस्त्र प्रहरीले जनाएको छ। पिकअप सवारी साधन र पैदल भरियामार्फत हुने ओसारपसार रोक्न सुरक्षाकर्मीहरू २४ सै घण्टा परिचालनमा छन्।

सशस्त्र प्रहरीका अनुसार, कम जनसङ्ख्या, कानुनी कारबाहीको डर कम हुनु र रातको समयमा सीमा पार गर्न सजिलो हुने भएकाले रातको समयमा तस्करीका गतिविधि बढी हुने गरेका छन्। यस्तो अवस्थालाई ध्यानमा राख्दै सशस्त्र प्रहरीले सीमा क्षेत्रमा कडाईका साथ निगरानी गरिरहेको छ।

पर्सा जिल्लाको विभिन्न सीमाक्षेत्रहरूबाट हुने अपराध नियन्त्रण, राजस्व चुहावट रोकथाम, सीमा अतिक्रमणको निगरानी र अन्य गैरकानुनी गतिविधि नियन्त्रण गर्ने उद्देश्यले सशस्त्र प्रहरी बलले चौबीसै घण्टा गस्ती संचालन गर्दै आएको छ। यसले समग्र सुरक्षा संरचना सुदृढ बनाउन सहयोग पुगेको सुरक्षा स्रोतहरूको भनाइ छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM