२०८३ बैशाख ४ गते शुक्रबार

रक्सौलमा लायन्स क्लबद्वारा विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न

 

अभिलाष गुप्ता
जेष्ठ २३ बिरगंज

रक्सौल: लायन्स क्लब अफ रक्सौल, डिस्ट्रिक्ट 322E ले सामाजिक उत्तरदायित्व र वातावरण संरक्षणको महत्वलाई आत्मसात गर्दै विगत वर्षझैं यस वर्ष पनि विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। क्लबले रामगढवा स्थित पटनी पंचायतमा करिब ६० ओटा दुर्लभ प्रजातिका विरुवाहरू रोपेका छन्। उक्त कार्यक्रम स्थानीय मुखिया अशोक सिंहको मार्गदर्शनमा सम्पन्न भएको थियो।

वृक्षारोपणमा प्रमुख रूपमा महोगनी, सतसाल, सागवान, गम्हार, जामुन, आँपला लगायतका प्रजातिहरूको समावेश गरिएको थियो। साथै, क्लबले पटनी पंचायतका स्थानीय बासिन्दालाई वातावरण संरक्षणको महत्त्वबारे जागरूक गराएको छ।

क्लबले भनेको छ कि जसरी प्रकृतिको अन्धाधुन्ध दोहन भइरहेको छ, त्यो अहिलेको पुस्ता र भविष्यको लागि गम्भीर खतरा बन्न सक्छ। तापक्रम वृद्धिका कारण जलवायु परिवर्तनको अनिश्चितता, असमय आँधी-तूफान, बेमौसमी वर्षा र हिउँपात जस्ता समस्या मानव जीवनका लागि चुनौतीपूर्ण बन्दै गइरहेका छन्। यस्तो परिस्थितिमा सबैले सचेत भएर वृक्षारोपणलाई प्राथमिकता दिनुपर्ने आवश्यकता रहेको क्लबले जनाएको छ।

क्लब अध्यक्ष लायन साइमन रेक्सको नेतृत्वमा सचिव लायन विमल सर्राफ र कोषाध्यक्ष लायन मोहम्मद निजामुद्दिनले वृक्षारोपण कार्यमा सहभागी भएका थिए। स्थानीय मुखिया सिंहले विरुवाहरूको संरक्षण र स्याहारको पूर्ण आश्वासन दिँदै पंचायतका सबै नागरिकलाई कम्तीमा एक–एक विरुवा लगाउन प्रेरित गर्ने बताएका छन्।

कार्यक्रममा सहभागी सबैले एक स्वरमा भने, “मानव जीवनको सुरक्षा गर्न प्रकृतिको सुरक्षा अनिवार्य छ।”

यस कार्यक्रमसम्बन्धी जानकारी लायन्स क्लब रक्सौलका सचिव तथा मिडिया संयोजक लायन विमल सर्राफले पत्रकारहरूसँग साझा गरेका हुन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM