२०८२ फाल्गुन ५ गते मंगलवार

बिरगंजमा ट्राफिक सप्ताह समापन, घन्टाघर चौकमा दिप प्रज्वलन

 

अभिलाष गुप्ता
बिरगंज,२८ जेष्ठ

एक हप्ता लामो ट्राफिक सप्ताह विशेष कार्यक्रम अन्तर्गत बुधवार साझ बिरगंजको घन्टाघर चौकमा दिप प्रज्वलन गरी कार्यक्रमको भव्य रुपमा समापन गरिएको छ।

समापन समारोहको अध्यक्षता जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्रले गरेका थिए। कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख लोकराज भट्ट, प्रहरी वरिष्ठ नायब निरीक्षक गुणनिधि खकुरेल, वडा प्रहरी कार्यालयका प्रमुख निरोज चौलागाईं, अन्य सुरक्षा निकायका प्रतिनिधि, सर्वसाधारण, पत्रकार, ट्राफिक प्रहरी तथा जनपद प्रहरीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको मुख्य उद्देश्य जनतालाई सुरक्षित सडक प्रयोग, ट्राफिक नियमको पालना तथा सडक दुर्घटनाबाट बच्न सचेतना फैलाउने रहेको थियो। ट्राफिक सप्ताहभरि विभिन्न स्थानहरूमा जनचेतनामूलक र्याली, सडक नाटक, विद्यालयस्तरीय कार्यक्रम तथा ट्राफिक नियमसम्बन्धी जानकारीमूलक कार्यक्रमहरु सञ्चालन गरिएको थियो।

कार्यक्रममा बोल्दै एसपी मिश्रले भने, “सडक दुर्घटना न्यूनीकरण र ट्राफिक नियमको पालना सुनिश्चित गर्न जनस्तरसम्म चेतना फैलाउनु अत्यावश्यक छ। ट्राफिक सप्ताहजस्ता कार्यक्रमहरुले नागरिकमा सजगता ल्याउने विश्वास लिएको छौं।”

ट्राफिक सप्ताहको क्रममा बिरगंजको विभिन्न भागमा ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरूलाई सचेत गराउँदै नियम पालना गर्न प्रेरित गरिएको थियो। ट्राफिक प्रहरीका अनुसार यस्ता कार्यक्रमहरू नियमितरूपमा जारी राखिनेछ।

कार्यक्रम शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको थियो भने सहभागीहरूले यस्तो अभियान निरन्तर हुनुपर्ने आवश्यकता औंल्याएका थिए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM