पर्साको सखुवाप्रसौनी गाउँपालिकामा भूमिहिन दलित, भूमिहिन सुकुमबासी अनि अव्यवस्थित बसोबासीहरुलाई असार १६ गते जग्गाको निस्सा वितरण गरिने भएको छ ।

गाउँपालिकामा आइतवार भूमि समस्या समाधान आयोग र जनप्रतिनिधिबीच सम्पन्न छलफलमा निस्सा वितरणको निर्णय गरिएको थियो । गाउँपालिका अध्यक्ष यशवन्त यादवको अध्यक्षतामा बसेको बैठकमा अध्यक्ष यादवले निस्सासम्बन्धी काममा गाउँपालिकाले पूर्ण साथ दिने जनाउनुभयो । “यो जमिनको मात्र कुरा होइन, सामाजिक न्यायको ऐतिहासिक कार्यक्रम पनि हो,” उहाँको भनाइ थियो ।
भूमि समस्या समाधान आयोग पर्साका अध्यक्ष तबरेज अहमदकाअनुसार सखुवाप्रसौनीमा अहिलेसम्म ६५५ जनाले निस्साका लागि नाम दर्ता गराएका छन् । जसमध्ये १४० जना भूमिहिन दलित, ३४१ जना भूमिहिन सुकुमबासी अनि १७४ जना अव्यवस्थित बसोबासी रहेका छन् । निस्सा वितरण पछि जग्गा वितरणको कार्यक्रम पनि तीव्र गतिमा अघि बढीने जनाइएको छ ।
कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष शर्मिला बिष्ट महतो, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, कर्मचारी सहित आयोग सदस्यहरुको पनि उपस्थिति थियो ।



















