वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक विकास महाशाखा अन्तर्गत जनस्वास्थ्य प्रवर्द्धन शाखाको आयोजनामा होटल तथा रेस्टुरेन्ट व्यवसायीहरूलाई लक्षित गर्दै एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
वीरगञ्जको होटल मकालुमा आयोजित सो कार्यक्रममा खाद्य सुरक्षा, सरसफाई, संक्रामक रोग नियन्त्रण, र खानेपानीको गुणस्तर जस्ता विषयमा विस्तृत जानकारी दिइयो। साथै, खाद्य निगरानी प्रणालीलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा व्यवसायीहरूसँग खुला छलफलसमेत गरिएको थियो।
कार्यक्रममा होटल व्यवसायी संघ पर्साका अध्यक्ष हरी पन्तको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण थिए।
प्रमुख अतिथि कर्णले सम्बोधनका क्रममा होटल तथा रेस्टुरेन्ट व्यवसाय जनस्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिएको क्षेत्र भएकाले व्यवसायीहरूले गुणस्तरीय, सुरक्षित र सरसफाइयुक्त सेवा प्रदान गर्नुपर्ने आवश्यकता औंल्याउँदै स्थानीय सरकारबाट आवश्यक सहयोग उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा वीरगञ्जका विभिन्न होटल, रेस्टुरेन्ट तथा खानपान व्यवसायमा संलग्न व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूलाई खाद्य सुरक्षाका मापदण्डहरू, स्वच्छ खाना पकाउने तथा भण्डारण गर्ने तरिका, सरसफाई सुनिश्चित गर्ने उपायहरू, र नियमित अनुगमन प्रणालीबारे प्राविधिक रूपमा जानकारी प्रदान गरिएको थियो।
जनस्वास्थ्य प्रवर्द्धन शाखाका अनुसार सो कार्यक्रमले व्यवसायीहरूमा आवश्यक सचेतना अभिवृद्धि गर्ने र उपभोक्ताहरूलाई गुणस्तरीय सेवा प्रवाह गर्न उत्प्रेरित गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रम समापनमा सहभागी व्यवसायीहरूले यस्ता कार्यक्रमले व्यवसायमा थप सुधार ल्याउने विश्वास व्यक्त गर्दै नियमित तालिम तथा अभिमुखीकरण कार्यक्रमको मागसमेत गरेका थिए।



















