भारतको महावाणिज्य दूतावास, बीरगञ्जको आयोजनामा ११औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा शनिबार बिहान बीरगञ्जस्थित ऐतिहासिक शंकराचार्य गेट परिसरमा भव्य योग कार्यक्रम सम्पन्न भएको छ। नेपाल–भारत सीमास्थित यस प्रवेशद्वारमा सम्पन्न कार्यक्रमलाई अन्तर्राष्ट्रिय योग दिवस २०२५ को अन्तिम तथा विशेष समापन कार्यक्रमको रूपमा सम्पन्न गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंह र विशिष्ट अतिथि खेल तथा समाज कल्याण मन्त्री प्रमोद कुमार जायसवाल रहे। उनीहरूले भारत सरकार तथा महावाणिज्य दूतावासले मधेशमा योगको प्रचारप्रसारमा पुर्याउँदै आएको योगदानको प्रशंसा गरे।
कार्यक्रममा भारतीय महावाणिज्यदूत देवीसहाय मीनाले २०१४ मा संयुक्त राष्ट्रसंघ महासभामा १७७ राष्ट्रको सहमतिमा अन्तर्राष्ट्रिय योग दिवसको सुरुवात भएको जानकारी दिँदै यस वर्षको नारा ‘एक पृथ्वी, एक स्वास्थ्यका लागि योग’ को महत्व र गहिरो सन्देशमा प्रकाश पारे।

खेल तथा समाज कल्याण मन्त्री प्रमोद कुमार जायसवालले योगको सार्वभौमिक मूल्य र जीवनोपयोगीताको चर्चा गर्दै सबै उमेर समूहका व्यक्तिहरूले दैनिक योग अभ्यास गर्नुपर्नेमा जोड दिए। उनले प्रदेशभर भारत सरकारको सहयोगमा सञ्चालित योग अभियानप्रति आभार प्रकट गर्दै यसको विस्तारप्रति आशा व्यक्त गरे।
कार्यक्रमको सञ्चालन भारतीय महावाणिज्य दूतावासका राजनैतिक कन्सुल संजय कुमारले गरेका थिए। कार्यक्रममा पूर्व मन्त्रीहरू, पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, ग्रीनसिटी सामुदायिक प्रहरी सेवा आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतान, नेपाल इनोभेटिभ सोसाइटीका अध्यक्ष कमल चौगाई, पतञ्जलि योग समितिका प्रतिनिधि, नेपाल–भारत मैत्री संघ, सुरक्षा निकायका प्रमुख, सरकारी कार्यालयका प्रमुख तथा नागरिक समाजका अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको अन्त्यमा प्रशिक्षित योग गुरूहरूको निर्देशनमा सामूहिक योग अभ्यास गरियो। सहभागीहरूले यस्तो कार्यक्रमले भारत–नेपाल सम्बन्ध सुदृढ बनाउन विशेष भूमिका खेलेको प्रतिक्रिया दिएका छन्।
महावाणिज्य दूतावासद्वारा मधेश प्रदेशभर सञ्चालनमा रहेको योग अभियानले ‘वसुधैव कुटुम्बकम्’ को दर्शनलाई सार्थक बनाउँदै योगको अन्तर्राष्ट्रिय महत्व नेपाली समाजमा गहिरो रूपमा स्थापित गरेको सहभागीहरूको धारणा रहेको छ।



















