साइबर सुरक्षाको महत्वलाई जनमानसमा फैलाउन तथा डिजिटल युगमा बढ्दो साइबर अपराधविरुद्ध सचेतना जगाउन पर्सा जिल्ला प्रहरी कार्यालयको अगुवाइमा “साइबर क्राइम सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। बिरगंज स्थित गौतम माध्यमिक बिधालयको सभाहलमा कक्षा ७ का सम्पुर्ण विद्यार्थीहरुलाई प्रशिक्षण दिईएको थियोे । उक्त कार्यक्रममा गौतम माध्यमिक बिधालयका प्रीन्सिपल गणेश क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियोे।

कार्यक्रममा प्रशिक्षण जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (SP) गौतम मिश्राको विशेष उपस्थिति रहेको थियो।
नेपाल प्रहरीले सञ्चालन गरेको यो जनचेतनामूलक सप्ताह “सत्य, सेवा, सुरक्षण” को मूल नारासहित विभिन्न विद्यालय, क्याम्पस, सार्वजनिक स्थानहरू र सामाजिक सञ्जालमार्फत नागरिकहरूलाई डिजिटल सुरक्षाको महत्त्वबारे जानकारी दिइरहेको छ।

गौतम मिश्राका भनाई अनुसार “डिजिटल युगसँगै साइबर अपराधको जोखिम पनि तीव्र गतिमा बढिरहेको छ। त्यसैले प्रत्येक नागरिकले अनलाइन संसारमा सचेत, जिम्मेवार र नैतिक बन्नुपर्ने आवश्यकता छ। साइबर अपराधलाई रोक्नका लागि प्रहरी मात्र होइन, जनस्तरमै सचेतना जरुरी छ।”
नेपाल प्रहरीले जनहितका लागि सञ्चालन गरिरहेको यस अभियानले साइबर अपराधको जोखिम न्यून गर्दै सुरक्षित डिजिटल व्यवहार विकासमा सकारात्मक योगदान दिने विश्वास लिइएको छ।



















