२०८२ माघ ११ गते आईतवार

गहवामाईको तेस्रो रथयात्रा भोलि हुने सम्पुर्ण तैयारी पुरा

 

श्री गहवामाई तीर्थ क्षेत्र विकास समितिको आयोजनामा हुन लागेको “तेस्रो गहवामाई रथयात्रा–२०८२” को सम्पूर्ण तयारी सम्पन्न भएको छ। रथयात्रा भोलि शुक्रबार (असार १३ गते) बिहान ७:३० बजे श्री गहवामाई मन्दिर परिसरबाट सुरु हुने आयोजक समितिले जानकारी दिएको छ।

वीरगंजस्थित श्री गहवामाई मन्दिर अगाडिको पार्कमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष श्याम पोखरेलको अध्यक्षतामा उक्त जानकारी दिइएको हो। कार्यक्रममा समितिका महासचिव लक्ष्मी नारायण गुप्ताले रथयात्रा सुरक्षा र व्यवस्थापन सम्बन्धी विस्तृत जानकारी दिँदै, यसपटकको कार्यक्रमका लागि करिब २५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको बताए।

उनले भने, “नेपालकै प्रख्यात गहवामाई मन्दिर बाट निकालिने यो तेस्रो रथयात्रा विशेष र भव्य बनाउन सुरक्षादेखि सेवा–सुविधासम्म सम्पूर्ण प्रबन्ध गरिएको छ।”

रथयात्राको सुरक्षा व्यवस्थालाई विशेष प्राथमिकता दिइएको छ। प्रमुख जिल्ला अधिकारीसहित जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी, नगर प्रहरी तथा अन्य सुरक्षानिकायसँग विभिन्न चरणमा समन्वय गरी योजना तय गरिएको हो। साथै, करिब ६ सय स्वयंसेवक परिचालन गरिनेछ।

रथयात्राको क्रममा ५० भन्दा बढी स्थानमा पिउने पानी, सर्बत, जुस तथा चिसो पेय पदार्थको स्टल राखिनेछ। शनिबार (असार १४ गते) हुने महाप्रसाद भण्डारा कार्यक्रममा पनि करिब १५ वटा स्टल मार्फत भव्यरूपमा प्रसाद वितरण गरिनेछ।

समितिले पत्रकार सम्मेलनमार्फत सम्पूर्ण वीरगन्जवासी, माताका श्रद्धालु भक्तजन तथा सरोकारवालाहरुलाई परिवारसहित रथयात्रामा सहभागी भई यात्रा भव्य र सभ्य रूपमा सम्पन्न गर्न सहयोग गर्न अनुरोध गरेको छ। साथै, शनिबार बिहान छपन्न भोग तथा साँझ ४ बजेपछि हुने महाप्रसाद भण्डारामा उपस्थितिका लागि पनि निमन्त्रणा गरिएको छ।

शान्तिपूर्ण र भक्तिभावपूर्ण वातावरणमा सम्पन्न हुने अपेक्षासहित यो रथयात्रालाई वीरगन्जको धार्मिक र सांस्कृतिक गरिमासँग जोडिएको महत्वपूर्ण पर्वको रूपमा लिइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM