जगरनाथपुर गाउँपालिका, पर्सामा सार्वजनिक सुनुवाई कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। स्थानीय सरकार र सुरक्षा निकायबीच समन्वय गर्दै स्थानीय नागरिकका गुनासा, सुझाव तथा जिज्ञासालाई प्रत्यक्ष रुपमा सम्बोधन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रम जगरनाथपुर–३ स्थित गढैया स्कुलको मैदानमा सम्पन्न भएको हो। कार्यक्रमको स्वागत मन्तव्य जगरनाथपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश यादवले राखेका थिए भने कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष श्रीकान्त यादवले गरेका थिए।
आयोजक जगरनाथपुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय तथा जिल्ला प्रहरी कार्यालय पर्सा रहेका थिए।
सार्वजनिक सुनुवाईमा स्थानीय सर्वसाधारणहरूले विभिन्न विषयमा जिज्ञासा राखेका थिए, जसमा प्रशासन, सुरक्षा, सेवा प्रवाह, विकास निर्माण लगायतका विषय समेटिएको थियो। उपस्थित जनप्रतिनिधि तथा सुरक्षा निकायका प्रमुखहरूले नागरिकका प्रश्नहरूको प्रत्यक्ष उत्तर दिएका थिए।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी गौतम मिश्र, सशस्त्र प्रहरी बल पर्साका एसपी राधेश्याम धिमाल, नेपाली काँग्रेसका नेता प्रेम बहादुर थापा, गाउँपालिकाकी उपाध्यक्ष बबिता सिंह क्षेत्री, वडा अध्यक्ष बिहारी मुखिया नुनिया, बिरगंज जेसिजका अध्यक्ष सरोज चौरसिया लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा स्थानीय जनसमुदाय, गाउँपालिका कर्मचारी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन पत्रकार क्रान्ति साहले गरेका थिए।



















