जनमत पार्टी पर्सा जिल्ला कार्यालयमा मधेस प्रदेश सरकारका वन तथा वातावरण मन्त्री संजयकुमार यादवको प्रमुख आतिथ्यमा भव्य स्वागत, सम्मान तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ।
बुधबार वीरगञ्जस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा हुदरमाई नगरपालिकाका युवा नेता मुकेश यादवसहित विभिन्न दल परित्याग गरी जनमत पार्टीमा प्रवेश गरेका छन्। उनीहरूलाई मन्त्री यादवले औपचारिक रूपमा टीका, अबिर र पार्टीको सदस्यता प्रमाणपत्र प्रदान गर्दै स्वागत गरेका हुन्।
पार्टी प्रवेश गर्ने नेताहरूमा वीरगन्ज महानगरपालिका–७ का संजय रौनियार, वडा नं.–८ की सरस्वती देवी, प्रमोद दास लगायत दर्जनौं नेताकार्यकर्ता रहेका छन्।
कार्यक्रममा बोल्दै मन्त्री यादवले जनमत पार्टीलाई “स्वराज आन्दोलनको माटोबाट जन्मिएको जनताको पार्टी” भनेर सम्बोधन गर्दै नवप्रवेशीहरूलाई संगठनमा क्रियाशील भई जनताको पक्षमा कार्य गर्न प्रेरित गरे।
“जनमत अब विकल्प मात्रै होइन, परिवर्तनको अपरिहार्य शक्ति बन्दै गएको छ,” मन्त्री यादवले भने, “नयाँ पुस्ताका नेताहरूको आगमनले पार्टी थप सशक्त हुनेछ।”
कार्यक्रम जनमत पार्टी पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा केन्द्रिय सदस्यहरू विद्यालाल प्रसाद, रम्भा मिश्रा, श्याम गुप्ता, अनिता रौनियार तथा प्रदेश सदस्य बृजेश्वर चौधरी, शिव यादव सहित पार्टीका जिल्ला, नगर र वडास्तरीय नेताहरूको उपस्थिति थियो।
उक्त अवसरमा संगठन सुदृढीकरण, स्थानीय तहमा जनजागरण र आगामी राजनीतिक कार्ययोजनाबारे समेत गम्भीर छलफल भएको पार्टीले जनाएको छ।



















