वीरगञ्ज महानगरपालिकाले मुख्य सडकलाई २५/२५ मिटर फराकिलो बनाउने निर्णयसँगै शहरमा तनावपूर्ण अवस्था सिर्जना भएको छ। महानगरले सडक विस्तार अन्तर्गत संरचना भत्काउन थालेपछि प्रभावित स्थानीय घरधनी र व्यवसायीहरू आन्दोलित भएका छन्।
शुक्रवार बिहानदेखि वीरगञ्ज बजार आंशिक रूपमा बन्द गरिएको छ। विरोधमा उत्रिएका प्रदर्शनकारीहरूले घण्टाघर चोकमा टायर बालेर प्रदर्शन गरेका छन्। उनीहरूले “व्यवसायीमाथि अन्याय नगर”, “हाम्रो व्यापार जोगाऊ” लगायतका नारासहित सडक अवरुद्ध गरेका छन्।
आन्दोलनको नेतृत्व वीरगञ्ज बचाउ संघर्ष समिति र सडक पीडित व्यापारी संघर्ष समितिले संयुक्त रूपमा गरिरहेका छन्। उनीहरूले महानगरपालिकाले कानुनी प्रक्रिया नअपनाई जबरजस्ती संरचना भत्काएको आरोप लगाएका छन्।
संघर्ष समितिका अध्यक्ष जवाहरप्रसाद गुप्ताका अनुसार, “घरधनीहरूको जीवनभरको कमाइ लगानीमा जोखिम परेको छ। हामीले विरोधस्वरूप सबै घरहरूमा कालो झन्डा राखेका छौं।”
प्रदर्शनकारीहरूले वैकल्पिक व्यवस्था बिना संरचना भत्काइएको भन्दै तत्काल कारबाही रोक्न र उचित क्षतिपूर्ति सुनिश्चित गर्न माग गरेका छन्।
यसबीच, प्रहरी प्रशासनले शान्तिपूर्ण प्रदर्शनमा संयम अपनाउन आग्रह गरेको छ भने तनावग्रस्त क्षेत्रहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
स्थानीय प्रशासन र आन्दोलनकारी पक्षबीच संवाद हुन सकेको छैन। यदि समाधानका लागि वार्ता नभए संघर्ष थप चर्किने संघर्ष समितिको चेतावनी छ।



















