२०८२ पुष १ गते मंगलवार

नेपाल ल्याइँदै गरेकी गाजियाबादकी दुई नाबालिग किशोरी सहित रक्सौलको मैत्री पुलनजिक दुई युवक पक्राउ

 

भारतको उत्तर प्रदेशस्थित गाजियाबादकी दुई नाबालिग किशोरीलाई प्रेम र विवाहको प्रलोभन देखाएर नेपाल ल्याउने क्रममा दुई युवकलाई रक्सौलको मैत्री पुल नजिकै पक्राउ गरिएको छ।

मानव तस्करी रोधी इकाई, भारतीय सीमा सुरक्षा बल (SSB) र प्रयास जुभेनाइल एड सेन्टरको संयुक्त कारबाहीमा गम्भीर शङ्कास्पद गतिविधि देखिएपछि युवकहरूलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा मोहम्मद रिजवान उर्फ अमन,मोहम्मद शेख
दुवै गाजियाबाद निवास उनीहरूले १५ वर्षीया हसीना र १६ वर्षीया शायरा (काल्पनिक नाम) नामक सहोदर दिदीबहिनीलाई विवाहको झुटो आश्वासन र विभिन्न लोभ देखाएर गाजियाबादबाट नेपाल लैजाँदै गरेका थिए। प्रारम्भिक अनुसन्धानमा किशोरीहरूलाई शारीरिक र मानसिक शोषण गरिएको खुल्न आएको छ।

मोहम्मद रिजवानले हसीनासँग विवाह गर्ने वाचा गरेका थिए।मोहम्मद शेखले शायरालाई आफु एक्लो रहेको बताउँदै झुटो प्रेममा पारेका थिए, तर पछि उनी पहिले नै विवाहित र एक सन्तानका पिता रहेको खुलासा भएको छ।

रक्सौलको मैत्री पुल नजिक नियमित जाँचको क्रममा उनीहरूलाई रोकिनुका साथै किशोरीहरूको काउन्सिलिङ गर्दा घटनाको वास्तविकता बाहिर आएको हो। गाजियाबाद प्रहरीसँग समन्वय गर्दा पीडित दुवै किशोरीको अपहरण, धम्की तथा चोरीसम्बन्धी उजुरी दर्ता भइसकेको पुष्टि भएको छ।

हाल किशोरीहरू र दुई युवकलाई रक्सौलको हरैया थानामा राखिएको छ र घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको छ।

प्रहरीको भनाइ अनुसार, समयमै गरिएको यो संयुक्त कारबाहीले दुई नाबालिग किशोरीलाई ठूलो दुर्घटना वा मानव तस्करीको शिकार हुनबाट बचाएको छ।

घटनाले नेपाल–भारत सीमा क्षेत्रमा सक्रिय मानव तस्करीको जोखिम र त्यसविरुद्धको निगरानी प्रणालीलाई अझ बलियो बनाउनु पर्ने आवश्यकता देखाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM