२०८२ फाल्गुन ५ गते मंगलवार

ज्ञान्दा एकेडेमीमा नेतृत्व चयन तथा सपथग्रहण कार्यक्रम सम्पन्न, विद्यालयस्तरबाटै असल नेतृत्वको सुरुआत हुन्छ एसपी मिश्र

 

वीरगंज महानगरपालिका वडा नम्बर २४ स्थित रामगढवामा रहेको ज्ञान्दा एकेडेमी स्कुलमा शुक्रबार विद्यार्थी नेतृत्व चयन, हेडगर्ल र हेडबोयलाई ब्याच वितरण तथा सपथग्रहण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता विद्यालयका सञ्चालक सन्दीप तुल्सियानले गर्नुभएको थियो भने पर्सा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्र प्रमुख अतिथिको रूपमा सहभागी हुनु भएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै एसपी मिश्रले नेतृत्व विकासको प्रारम्भिक चरण विद्यालयबाटै हुने बताउँदै आजका विद्यार्थी नै भोलिका जिम्मेवार नागरिक हुने हुँदा शिक्षामा गुणस्तर र अनुशासन अत्यावश्यक भएको धारणा व्यक्त गर्नुभयो। उहाँले ब्याच प्राप्त विद्यार्थीहरूलाई बधाई दिँदै उज्ज्वल भविष्यको शुभकामना दिनुभयो।

कार्यक्रममा बीरगंज महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले हालैको एसईई नतिजा अपेक्षाकृत राम्रो नभएको भन्दै निजी र सामुदायिक विद्यालयबीच सहकार्य गरी शिक्षाको गुणस्तर सुधार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। साथै, ज्ञान्दा एकेडेमीले भौतिक पूर्वाधार तथा शिक्षक दक्षताका क्षेत्रमा गरेको लगानी सराहनीय रहेको उल्लेख गर्नुभयो।

विद्यालयका प्रिन्सिपल डा. राजेन्द्र प्रसाद कोइरालाले स्वागत मन्तव्य दिंदै आगामी शैक्षिक सत्रदेखि प्लस टु पछिका उच्च शिक्षा कक्षाहरू सञ्चालन गर्ने योजना रहेको जानकारी गराउनुभयो।

कार्यक्रममा सोहेल पोदार, राप्रपा नेता जगरनाथ कुर्मी, शिक्षक-शिक्षिका, अभिभावक, विद्यार्थी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको सहजीकरण विज्ञान शिक्षिका सुजाता शर्माले गर्नुभएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM