२०८२ फाल्गुन ५ गते मंगलवार

प्याब्सन पर्सा द्वारा पानीको समस्याबारे नगर प्रमुखको ध्यानाकर्षण गराईयो

 

प्याब्सन (PABSON) मातहतका विद्यालयहरूमा देखा परेका पानी अभावका समस्याहरूलाई लिएर विरगंज नगर प्रमुख, प्रमुख प्रशासनिक अधिकृत तथा शैक्षिक प्रशासन महाशाखा प्रमुखको ध्यानाकर्षण गराइएको छ।

प्याब्सन वीरगंज नगर अध्यक्ष राहुल श्रीवास्तव तथा सचिव अमित आलोकले संयुक्तरूपमा नगर प्रमुख राजेशमान सिंह, प्रमुख प्रशासनिक अधिकृत अर्बिन्द लाल कर्ण, तथा शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेलाई औपचारिक पत्रमार्फत वर्तमान परिस्थितिको गम्भीरता दर्शाउँदै तत्काल समस्या समाधानको पहल गर्न आग्रह गरेका हुन्।

पत्रमा उल्लेख गरिएअनुसार, हाल वीरगंजका विभिन्न निजी विद्यालयहरूमा पानी आपूर्तिको समस्या चरम अवस्थामा पुगेको छ। यसले विद्यार्थीहरूको स्वास्थ्य, पठनपाठन र विद्यालयको नियमित सञ्चालनमा प्रतिकूल असर पारिरहेको प्याब्सनको भनाइ छ।

नगर क्षेत्रभित्र रहेका विद्यालयहरूमा दैनिक शुद्ध पिउने पानी, शौचालयमा प्रयोग हुने पानी तथा सरसफाइका लागि अत्यावश्यक पानी नपुग्दा शिक्षण–अभ्यासमा बाधा उत्पन्न भएको भन्दै प्याब्सनले समस्या तत्काल समाधान गर्न नगर कार्यपालिकाको ध्यानाकर्षण गराएको हो।

नगर प्रमुखलाई बुझाइएको पत्रमा विद्यालयहरूलाई प्राथमिकतामा राखी आवश्यक पानी आपूर्तिको व्यवस्था मिलाउन अनुरोध गरिएको छ। साथै, दीर्घकालीन समाधानका लागि प्रभावकारी योजना बनाउन पनि सुझाव दिइएको छ।

प्याब्सनले विद्यालयस्तरमै वातावरणीय सरसफाइ, स्वास्थ्य र सुरक्षालाई मध्यनजर गर्दै पानी जस्तो आधारभूत आवश्यकताको ग्यारेन्टी हुनु अपरिहार्य रहेको उल्लेख गर्दै स्थानीय सरकारसँग सकारात्मक पहलको अपेक्षा राखेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM