२०८२ माघ ११ गते आईतवार

प्रहरी नायब निरीक्षक सुभाष यादव ‘बेस्ट पुलिस अफ द मन्थ’बाट सम्मानित

 

अपराध नियन्त्रणदेखि उद्धार कार्यसम्म, सर्लाहीमा उत्कृष्ट प्रहरीको उदाहरणीय योगदान

जिल्ला प्रहरी कार्यालय सर्लाही अन्तर्गत इलाका प्रहरी कार्यालय, कर्मैयाका प्रमुख प्रहरी नायब निरीक्षक (सई) सुभाष यादवलाई ‘बेस्ट पुलिस अफ द मन्थ’ बाट सम्मान गरिएको छ। सर्लाही जिल्लाभर असार महिनामा गरेको उत्कृष्ट कार्यको कदरस्वरूप जिल्ला प्रहरी कार्यालय, सर्लाहीले उनलाई यो सम्मान प्रदान गरेको हो।

प्रत्येक महिना विभागीय मूल्यांकनको आधारमा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरीलाई प्रोत्साहन स्वरूप सम्मान गरिँदै आएकोमा यसपटक प्र.ना.नि. यादवले अपराध अनुसन्धान, नियन्त्रण तथा उद्धार कार्यमा देखाएको विशिष्ट सक्रियता, इमानदारी र नेतृत्व क्षमताको मूल्यांकन गर्दै उनलाई छनोट गरिएको हो।

अपराध नियन्त्रण र सीमावर्ती समन्वयमा उदाहरणीय सफलता

भारतको बिहार अन्तर्गत सोनबर्षा थानाको समन्वयमा यादव नेतृत्वको टोलीले १७६ थान नक्कली नेपाली रुपैयाँसहित ५ जना भारतीय नागरिक, थप २० थान नक्कली नोट, १ नलकटुवा पेस्तोल र १० राउण्ड गोलीसहित २ जना पक्राउ गर्ने उल्लेखनीय सफलता प्राप्त गरेको थियो।

त्यसैगरी भारतको बसतपुरमा बन्धक बनाइएका बागमती नगरपालिका–१० का १८ वर्षीय शेख जयसलाई सकुशल उद्धार, १० किलो गाँजासहित दुई जना, Winrex 100ml औषधिसहित मोहन खत्री र उनकी पत्नी, साथै १६ किलो गाँजा उत्पादन र विक्रीमा संलग्न मानबहादुर पक्राउ जस्ता कार्यहरू पनि यादवको नेतृत्वमा सफलतापूर्वक सम्पन्न गरिएको थियो।

अवैध सामान नियन्त्रण र राजश्व सुरक्षामा पनि अग्रणी

असार महिनामा मात्रै करिब ४ करोड ३६ लाख रुपैयाँ बराबरका अवैध सामग्रीहरू नियन्त्रणमा लिई भन्सार पठाइएको छ। यसमा कबाड, लहसुन, इलेक्ट्रोनिक्स, हार्डवेयर, सुपारी, मेडिसिन, मेसिन आदि सामग्री लोड गरिएका १० वटा ट्रक पथलैया भन्सार पठाइएको र ८२० केजी काजु ट्रक र चालकसहित नियन्त्रणमा लिई राजश्व कार्यालय पथलैया बुझाइएको थियो।

बालबालिका उद्धार र फरार प्रतिवादी नियन्त्रण

भारतबाट अहिले सम्म २९ जना बालबालिकाको उद्धार, जसमा असार महिनामै ४ जनालाई तत्काल उद्धार गरी नेपाल ल्याइएको छ। त्यसैगरी जघन्य अपराधमा फरार रहेका १८२ जना प्रतिवादी पक्राउ गरी अदालती प्रक्रिया अघि बढाइएको हो।

संवेदनशील मुद्दामा सक्रियता

घरेलु हिंसा, बालबालिका हराउने मुद्दा र ठाडो उजुरीहरूमा लैङ्गिक संवेदनशीलता अपनाई कार्य गर्दै आएको उल्लेख गर्दै, जिल्ला प्रहरी प्रवक्ता डिएसपी सरोज राईले सुभाष यादवको व्यावसायिक निष्ठा, लगनशीलता र संगठनप्रतिको समर्पणको उच्च मूल्याङ्कन गर्दै सम्मान प्रदान गरिएको बताए।

गत वर्ष ‘उत्कृष्ट अनुसन्धानकर्ता’ को उपाधि

यसअघि पनि यादवले प्रहरी संगठनका तर्फबाट ‘उत्कृष्ट अनुसन्धानकर्ता’ को उपाधि तत्कालीन आईजीपी बसन्तबहादुर कुँवरबाट प्राप्त गरिसकेका छन्। उनीप्रति भ्रष्टाचाररहित, उत्तरदायी र मानवतावादी सुरक्षा सेवाको उदाहरणीय अनुहारका रूपमा सुरक्षा वृत्तमा चासो बढ्दै गएको छ।

जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रमुख एसपी योगेन्द्र खड्काको सिफारिसमा उत्कृष्ट प्रहरी छनोट समितिको सर्वसम्मत निर्णयबाट यादवलाई सम्मान गरिएको हो।

“जनताको सुरक्षामा समर्पित प्रहरी” भन्ने नाराको मूर्त रूप प्रस्तुत गर्दै, प्रहरी नायब निरीक्षक सुभाष यादवले देखाएको प्रतिबद्धता सम्पूर्ण प्रहरी संगठनका लागि प्रेरणाको स्रोत बनेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM