रक्सौल, पूर्वी चम्पारण
जीवनको सफलता र असफलतामा हाम्रो व्यवहारका साना-साना कुराले ठूलो प्रभाव पार्ने लायन्स क्लब अफ रक्सौलका अध्यक्ष तथा मिडिया प्रभारी एवं सामाजिक अभियन्ता लायन बिमल सर्राफले बताएका छन्। उनले पत्रकारहरूसँग कुरा गर्दै भने,
“साना-साना खराब बानी, स्वभावको सानो विकृति, रहनसहनको गलत शैली जस्ता सामान्य कुरा भए पनि यिनै कारणले मानिसको प्रगति, विकास र सफलताको बाटो रोकिदिन्छन्।”
उनका अनुसार, धेरैजसो मानिसहरू यस्ता कमजोरी सुधार्ने प्रयास नगरी आफ्ना असफलताका लागि विभिन्न कारणहरू गढेर आफूलाई सन्तुष्ट पार्ने असफल प्रयास गर्छन्।
“प्रत्येक व्यक्ति आफैंमा एउटा चलायमान विज्ञापन हो। विज्ञापन जस्तो हुन्छ, त्यसको प्रभाव पनि त्यस्तै पर्छ,” सर्राफले भने।

बातचीत, वेशभूषा र रहनसहनबाट मानिसको व्यक्तित्व झल्किने भन्दै उनले गलत विज्ञापन गराउने बानी र फुहडपन छोड्न आवश्यक रहेको बताए।
“कुनै पनि प्रकारका चारित्रिक वा व्यवहारिक दोषले मानिसलाई असफलता र पतनतर्फ धकेल्न सक्छ, समाजमा उसको मूल्य र प्रभाव नष्ट गर्न सक्छ,” उनले थपे।
उनका अनुसार, सानो-साे व्यवहारिक त्रुटिले समेत मानिसको प्रगति र विकासको बाटो रोकिदिन्छ।
“कसैकसैले आफ्नो हाँसो, प्रसन्नता र आशावादी दृष्टिकोणबाट सुन्दर वातावरण निर्माण गर्छन्। यसमा दृष्टिकोण र जीवनलाई हेर्ने इच्छाशक्ति मुख्य कुरा हो,” उनले बताए।
समाजमा असफलताको एउटा ठूलो कारण अरूको आलोचना गर्दै समय बिताउनु रहेको उल्लेख गर्दै उनले भने,
“यी साना-साना कुराहरूलाई ध्यान दिनु अत्यन्त जरुरी छ। किनकि यिनै कुराले मानिसको प्रगति अवरुद्ध गर्न सक्छन्। तसर्थ, यिनको सुधारका लागि निरन्तर प्रयासरत रहनुपर्छ।”



















