अभिलाष गुप्ता
बिरगंज ०७ जेष्ठ
बीपीसी कलेज, वीरगञ्जले १२ कक्षाका विद्यार्थिहरूको बिदाई तथा नयाँ भर्ना भएका विद्यार्थीहरूको स्वागतार्थ आयोजना गरिएको “यात्रा नयाँ पथको शुभकामना कार्यक्रम” भव्यताका साथ सम्पन्न गरेको छ। कार्यक्रम शिक्षामा समर्पित, प्रेरणादायी र सम्मानप्रद वातावरणमा सम्पन्न भएको हो।
कार्यक्रमको अध्यक्षता बिपिसी कलेजका निर्देशक एवं मधेश विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्यले गरेका थिए भने प्रमुख अतिथिका रूपमा जिल्ला प्रहरी कार्यालय, पर्साका प्रमुख एसपी गौतम मिश्राको गरिमामय उपस्थिति रहेको थियो।
विशिष्ट अतिथिहरूको उल्लेखनीय सहभागिता
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरी, बिपिसी कलेजका निर्देशक एवं मधेश विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्य, शिक्षाविद् युगल किशोर, समाजसेवी विनय ठाकुर, अर्बिन्द श्रेष्ठ, यात्रा डेलीका सञ्चालक राम सर्राफ, नारायणी एफएमका निर्देशक निरज पिठाकोटी, समाजसेवी सिवानाथ यादव, मानवसेवा आश्रमका देवेश मानवसेवा, एलाईड सोसाइटीका अध्यक्ष ओम कुमार झा लगायतको गरिमामय उपस्थिति रहेको थियो।
शिक्षक सम्मानले थप गरिमा
कार्यक्रमको एक विशेष आकर्षणका रूपमा शिक्षाक्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका पीएचडी उपाधि प्राप्त तीन जना प्राध्यापकहरूलाई विशेष सम्मान गरिएको थियो। सम्मानित प्राध्यापकहरूमा डा. रेखा अग्रवाल, डा. बिनय कुमार ठाकुर र अर्बिन्द श्रेष्ठ रहेका छन्। उनीहरूलाई बिपिसी कलेजका निर्देशक डा. दीपक शाक्यद्वारा खादा, टीका तथा मायाको चिनो प्रदान गरी सम्मान गरिएको हो।
विद्यार्थीलाई प्रेरणा र शुभकामना
कार्यक्रमका विभिन्न वक्ताहरूले बिदाइ हुँदै गरेका विद्यार्थीहरूलाई भविष्यमा सफलताको शुभकामना दिँदै आत्मविश्वासका साथ अगाडि बढ्न प्रेरित गरे। साथै, नयाँ भर्ना भएका विद्यार्थीहरूलाई कलेजको शैक्षिक वातावरण र मूल्य–मान्यता प्रति परिचित गराउँदै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरिएको थियो।
कार्यक्रम सांस्कृतिक प्रस्तुति, वक्तव्य, सम्मान र आत्मीयता भरिएका क्षणहरूसँगै उत्साहपूर्वक सम्पन्न भएको थियो।









