२०८२ चैत्र २ गते सोमबार

भारतीय महावाणिज्य दूतावास, वीरगन्जद्वारा विश्व सांस्कृतिक विविधता दिवस भव्य रूपमा सम्पन्न

 

अभिलाष गुप्ता
वीरगन्ज,०९ जेष्ठ

भारतीय महावाणिज्य दूतावास, वीरगन्जको आयोजनामा विश्व सांस्कृतिक विविधता दिवस एक विशेष समारोहका साथ भव्य रूपमा मनाइएको छ। सांस्कृतिक एकता र विविधताको सम्मानमा आयोजित यस कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूले बहुआयामिक सांस्कृतिक प्रस्तुति दिएका थिए।

कार्यक्रम वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासको प्राङ्गणमा आयोजना गरिएको थियो, जसमा प्रमुख अतिथिका रूपमा कन्सुलर देबि सहाय मिना सहभागी भइन्। उहाँले विद्यार्थीहरूद्वारा प्रस्तुत कलात्मक प्रस्तुति तथा सांस्कृतिक विविधताको प्रशंसा गर्दै, यस्ता कार्यक्रमले आपसी समझदारी, सद्भाव र शान्तिको प्रवर्द्धनमा टेवा पुग्ने बताउनुभयो।

उक्त कार्यक्रममा डि.ए.भि. स्कुल, गुरु कुल एकेडेमी, ज्ञान्दा एकेडेमी तथा शारदा कला केन्द्रका विद्यार्थीहरूले आ-आफ्नो विद्यालयको तर्फबाट विविध नृत्य, गायन तथा अन्य प्रतिभाहरू प्रस्तुत गरेका थिए। विद्यार्थीहरूको जोशिलो सहभागिता तथा कलात्मक प्रस्तुतिले उपस्थित सबैलाई मन्त्रमुग्ध बनाएको थियो।

कार्यक्रममा सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो, जसले उनीहरूको उत्साह र भविष्यप्रतिको प्रेरणालाई थप सशक्त बनाएको छ।

यस अवसरमा विभिन्न समाजसेवी, सञ्चारकर्मी, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहनुका साथै कार्यक्रम सांस्कृतिक आदानप्रदान र आपसी मित्रताको सन्देश बोकेको महत्वपूर्ण अवसरका रूपमा परिणत भएको थियो।

भारतीय महावाणिज्य दूतावासले भविष्यमा समेत यस्ता रचनात्मक तथा सांस्कृतिक कार्यक्रम निरन्तर आयोजना गर्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM