२०८२ फाल्गुन २७ गते बुधबार

वीरगंजमा ‘मधेशमा उद्यमशीलता र स्टार्टअप विकास’ विषयक भव्य सेमिनार सम्पन्न

 

अभिलाष गुप्ता
वीरगंज, १२ जेष्ठ

मधेश प्रदेशमा उद्यमशीलता र स्टार्टअप संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले वीरगंजमा एकदिने भव्य सेमिनार सम्पन्न भएको छ। वीरगंज पब्लिक कलेजको आयोजनामा र विश्वविद्यालय अनुदान आयोग, नेपालको सहयोगमा आयोजित “मधेश, नेपालमा उद्यमशीलता र स्टार्टअप इकोसिस्टम विकास” विषयक सेमिनारमा शिक्षाविद, उद्योगी, नीति निर्माता तथा युवाको उल्लेखनीय सहभागिता रहेको थियो।

सेमिनारका प्रमुख अतिथि मधेश विश्वविद्यालयका प्राध्यापक डा. दीपक शाक्यले नवीन सोच, प्रविधि र स्थानीय स्रोतको सदुपयोगमार्फत मधेशमा उद्यमशीलतालाई संस्थागत ढंगले अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो। उहाँले युवालाई नवप्रवर्तनमा आधारित स्टार्टअपतर्फ आकर्षित गर्न शैक्षिक तथा नीतिगत सहकार्य अपरिहार्य भएको धारणा व्यक्त गर्नुभयो।

नेपाल उद्योग वाणिज्य महासंघ, मधेश प्रदेशका अध्यक्ष अशोक टेमानीले मधेशमा युवामुखी कार्यक्रम र नीतिगत सहजीकरणको खाँचो औंल्याउँदै, यस्ता सेमिनारहरूले जागरण र प्रेरणा दिने उल्लेख गर्नुभयो। उहाँले शिक्षालाई व्यावसायिक सोचसँग जोड्ने संस्थागत प्रयास आवश्यक भएको बताउनुभयो।

वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतमले मधेशमा उद्यमशीलताको अपार सम्भावना रहेको उल्लेख गर्दै, शिक्षित युवालाई स्टार्टअप संस्कृतिमा आकर्षित गर्न नीतिनिर्माता, शैक्षिक संस्था र उद्योग क्षेत्रबीच समन्वय अपरिहार्य भएको बताए।

सहभागी वक्ताहरूमा वीरगंज उद्योग वाणिज्य संघका सहकोषाध्यक्ष निरज अग्रवाल, नेशनल यंग इन्टरप्रेनर्स फोरम (NYEF) का अध्यक्ष पंकज अग्रवाल लगायतले मधेशको औद्योगिक भविष्य र युवाको उद्यमशील क्षमताबारे आफ्ना धारणा राखेका थिए।

कार्यक्रमको स्वागत मन्तव्य वीरगंज पब्लिक कलेजका सहायक क्याम्पस प्रमुख अरविन्द श्रेष्ठले दिनुभयो। उहाँले यस्ता विमर्शहरूले विद्यार्थी तथा युवालाई आत्मनिर्भर र नवप्रवर्तनशील उद्यमी बन्न उत्प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो।

सेमिनारमा विद्यार्थी, शिक्षक, युवा व्यवसायी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM