अभिलाष गुप्ता
वीरगन्ज,२० जेष्ठ
विश्व साइकल दिवसको अवसरमा भारतीय महावाणिज्य दूतावास वीरगन्जले “स्वस्थ रहनुहोस्, साइकल चलाएर फिट रहनुहोस्” भन्ने मूल नाराका साथ भव्य साइकल र्यालीको आयोजना गरेको छ।
साइकल र्यालीमा नेपाल इनोभेटिभ सोसाइटी वीरगन्ज, वीरगन्ज साइकल क्लब, बारा राइडर्स संघ जीतपुरसिमरा, तथा ग्रीनसिटी सामुदायिक सेवा केन्द्र, आदर्शनगर, वीरगन्ज लगायतका विभिन्न सहयोगी संस्थाहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा नेपाल इनोभेटिभ सोसाइटी वीरगन्जका अध्यक्ष कमल चौगाई, सदस्य डा. बिपि यादव, तथा ग्रीनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतान लगायत संघ-संस्थाका पदाधिकारी एवं सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
उक्त कार्यक्रमको अध्यक्षता भारतीय महावाणिज्य दूतावास वीरगन्जका प्रमुख डि.एस. मिनाले गरेका थिए।
साइकल र्यालीमा जम्मा ७५ जना सहभागी थिए। र्याली भारतीय महावाणिज्य दूतावास वीरगन्जको गेटबाट सुरु भई घन्टाघर, वीरगन्ज भन्सार अगाडि, शंकराचार्य गेटसम्म पुगेर पुनः दूतावासको गेटमै आएर समापन गरिएको थियो। र्यालीको जम्मा दुरी ८ किलोमिटर रहेको थियो।
यस कार्यक्रमले पर्यावरणीय सन्तुलन र शारीरिक स्वास्थ्यको महत्वलाई सन्देश दिने उद्देश्य राखेको आयोजकले जनाएका छन्।








