अभिलाष गुप्ता
वीरगंज,२८ जेष्ठ
“जहाँ छ स्वच्छता, त्यहाँ छ स्वस्थ जीवन।” यसै उद्देश्यका साथ वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले वातावरणीय सरसफाइ र प्रदूषण नियन्त्रणको क्षेत्रमा निरन्तर जनचेतनामूलक कार्यक्रमहरू अघि सारेको छ। महामहिम महावाणिज्यदूत श्री देवी शरण मीणाको अगुवाइमा दूतावासले जनसाधारणमा स्वच्छ जीवनशैली, प्लास्टिक न्यूनिकरण र जलश्रोत संरक्षणका लागि सन्देश प्रवाह गर्दै आइरहेको छ।

महामहिम महावाणिज्यदूत मीणाले नागरिकहरूलाई दैनिक जीवनमा अपनाउन सकिने साना तर प्रभावकारी उपायहरूबारे समय-समयमा जानकारी गराउँदै आउनुभएको छ। हालैको सन्देशमा उहाँले प्लास्टिकको प्रयोगमा सावधानी अपनाउन सुझाव दिनुभयो। विशेष गरी, प्लास्टिकको प्याकेट कोनातिरबाट होइन, माथिल्लो भागबाट काट्दा त्यसलाई पुनः प्रयोग गर्न सकिने सम्भावना बढी हुने कुरा उहाँले उल्लेख गर्नुभयो।
प्लास्टिकको विकल्प कपडाको झोला
महावाणिज्यदूत मीणाले प्लास्टिक प्रदूषणबाट हुने दीर्घकालीन असरप्रति चिन्ता व्यक्त गर्दै प्लास्टिकको सट्टा कपडाको झोला प्रयोग गर्न आग्रह गर्नुभयो। उहाँले भने, “हामीले एकपटक प्रयोग गरिसकेका प्लास्टिक सामग्रीलाई यथासम्भव पुनः प्रयोग गर्ने बानी बसाल्नु पर्छ। यसले वातावरणमैत्री जीवनशैलीको विकासमा मद्दत पुर्याउँछ।”

जलश्रोत र शहर सफाइमा प्रेरणा
उहाँले नगरबासीलाई आफ्ना घर, टोल, सार्वजनिक स्थल र विशेषगरी जलश्रोतहरू पोखरी, धारो, नहर आदिको नियमित सरसफाइमा ध्यान दिन प्रेरित गर्नुभएको छ। उहाँको भनाइमा, “जीवनदायी स्थलहरूको मर्म बुझ्नु हाम्रो कर्तव्य हो। वरिपरी सफा राख्न सकेमा हामी स्वास्थ्यसम्बन्धी धेरै समस्या स्वतः टार्न सक्छौं।”
जनसाधारणको सक्रिय सहभागिता आवश्यक
दूतावासले यस्ता जनचेतनामूलक अभियानलाई अझ प्रभावकारी बनाउन जनसाधारणको सक्रिय सहभागिता अपरिहार्य रहेको जनाएको छ। “यी सन्देशहरू केवल भाषणमा सीमित नरहोस्, व्यवहारमै उतार्न सकियो भने वातावरण स्वच्छ र सुरक्षित बन्नेछ,” महावाणिज्यदूत मीणाले जोड दिनुभयो।
महावाणिज्य दूतावासले आगामी दिनहरूमा स्थानीय समुदायहरूसँग सहकार्य गर्दै सरसफाइ, पुनःप्रयोग, प्लास्टिक न्यूनिकरण, र वातावरणीय सचेतनासम्बन्धी विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने योजना रहेको बताएको छ।









