भन्सार जाँचपास परीक्षण प्रक्रियामा देखिएको ढिलाइ, दोहोरो प्रक्रिया तथा पूर्वसूचनाको अभावले उद्योगी तथा व्यापारीलाई कठिनाइ भएको भन्दै उनीहरूले गुनासो गरेका छन्। भन्सार जाँचपास परीक्षण कार्यालय त्रिपुरेश्वरको आयोजनामा आयोजित कार्यक्रममा व्यापारीहरूले यस्तो धारणा व्यक्त गरेका हुन्।
कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतमले वीरगंज नाका हुँदै दैनिक लाखौंको कारोबार हुने भए पनि भन्सार प्रक्रियामा पारदर्शिता र गति अभाव देखिएको बताए। उनले निजी क्षेत्रले भोग्दै आएको ढिलासुस्ती, दोहोरो परीक्षण र अभिलेख व्यवस्थापनको समस्यालाई सम्बोधन गर्न प्रभावकारी परीक्षण प्रणालीको आवश्यकता रहेको धारणा राखे।
कार्यक्रममा भन्सार जाँचपास परीक्षण कार्यालयका प्रमुख चिरञ्जीवि अधिकारीले व्यवसायीहरूका गुनासोलाई गम्भीरतापूर्वक लिने प्रतिबद्धता व्यक्त गर्दै, व्यापारमैत्री वातावरण निर्माण गर्न कार्यालय निरन्तर क्रियाशील रहेको बताए। उनले भन्सार ऐन, नियम, कार्यविधि तथा निर्देशिकाको पालना गर्दै व्यापार सहजीकरण, राजस्व संकलन वृद्धि र जोखिम व्यवस्थापनमा विशेष ध्यान दिइने जानकारी दिए।
कार्यक्रमको उद्देश्य भन्सार प्रणालीलाई थप पारदर्शी, प्रभावकारी र व्यवसायमैत्री बनाउनु रहेको बताइएको छ। व्यापारीहरूबाट संकलित सुझावहरूमार्फत व्यापारिक लागत न्यून गर्दै राजस्व सुरक्षामा योगदान पुर्याउने पहल गरिने बताइएको छ।
कार्यक्रममा भन्सार प्रशासक दीपक लामिछाने, संघका वरिष्ठ उपाध्यक्ष माधव राजपाल, प्रमुख प्रशासकीय अधिकृत मनोज उपाध्यायलगायत वक्ताहरूले आ–आफ्ना धारणा राख्दै व्यवहारिक समस्याको समाधानका लागि सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेकोमा जोड दिएका थिए।









