२०८२ चैत्र १७ गते मंगलवार

पर्सामा १३ लाखभन्दा बढीको अवैध टायरसहित ट्रयाक्टर नियन्त्रणमा, अनुसन्धान जारी

 

भारतबाट भन्सार राजस्व छलेर ल्याइएको १३ लाख ६० हजार रुपैयाँ बराबरको अवैध टायरसहित ट्रयाक्टर पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ। वीरगन्ज महानगरपालिका–२१ परवानीपुर चोकस्थित सडकखण्डमा चेकजाँचको क्रममा ट्रयाक्टर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो।

उहाँका अनुसार परवानीपुर प्रहरी चौकी अन्तर्गतको नियमित चेकिङ टोलीले ना. ६ त ४१२९ नम्बरको ट्रयाक्टरबाट बस र ट्रकमा प्रयोग हुने १८ थान अवैध टायर फेला पारी बरामद गरेको हो।

बरामद टायरहरू कसको हो भन्ने विषयमा हाल अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साले पछिल्ला दिनहरूमा भारतबाट अवैध रूपमा भित्र्याइएका सामानहरू निरन्तर रूपमा बरामद गर्दै आएको छ। अवैध आयातको क्रम बढेसँगै प्रहरीले निगरानी तथा कारबाही प्रक्रिया समेत तीव्र बनाएको छ।

प्रहरीले सार्वजनिक सरोकारका विषयमा सशक्त कदम चालेको भन्दै सर्वसाधारणले पनि सहयोग गर्न आह्वान गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM