२०८२ चैत्र १७ गते मंगलवार

प्रसौनी गाउँपालिकामा छात्रवृत्ति वितरण, ६७ जना विद्यार्थी लाभान्वित

 

बाराको प्रसौनी गाउँपालिका–६ स्थित श्री नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय, बेलहियामा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरिएको छ। बिहीबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा कक्षा १ देखि ५ सम्मका छात्रा र दलित समुदायका कुल ६७ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो।

प्रत्येक विद्यार्थीलाई जनही ४ सय रुपैयाँका दरले छात्रवृत्ति वितरण गरिएको उक्त कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष बृजकिशोर कुशवाहा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रम अध्यक्षताको जिम्मेवारी पनि कुशवाहाले नै सम्हाल्नुभयो।

कार्यक्रममा विद्यालयका प्राध्यापक रबिन्द्र कुमार गिरी र अभिभावक प्रतिनिधिको रूपमा प्रेमचन्द्र प्रसाद कुशवाहाको विशेष उपस्थिति रहेको थियो।

छात्रवृत्ति वितरण कार्यक्रमको उद्देश्य आर्थिक, सामाजिक तथा शैक्षिक रूपमा पछाडि परेका बालबालिकालाई प्रोत्साहन गर्नु रहेको आयोजकहरूले बताएका छन्।

वडा अध्यक्ष कुशवाहाले कार्यक्रममा बोल्दै विद्यार्थीहरूलाई नियमित पढाइमा ध्यान दिन आग्रह गर्दै भविष्यमा पनि यस्ता सहयोग कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

छात्रवृत्तिले विद्यार्थीहरूमा पढाइप्रतिको रुचि बढाउने तथा उनीहरूको आत्मविश्वास अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ। अभिभावकहरूले पनि यस्ता कार्यक्रमले बालबालिकाको शिक्षामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM