सशस्त्र प्रहरी बल पर्साले दुई व्यक्ति सहित रू. १८ लाख अवैध रकम बरामद गरेको छ ।विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल (गुल्म वीरगन्ज) बाट खटिएको टोलीले वीरगन्ज महानगरपालिका–१६ स्थित वीरगन्ज भन्सार चेकजाँच विन्दु नजिकै त्रिभुवन राजमार्गमा चेकजाँच गर्दा एक व्यक्ति साथमा रू. १३ लाख बरामद गरेको थियो ।
जिल्ला पर्सा, वीरगन्ज–२, छप्कैया बस्ने अन्दाजी १९ वर्षीय राहुल कुमार तिवारीले BR05AT0475 नम्बरको मोटरसाइकलको एअर फिल्टर बक्समा लुकाई ल्याइएको रू. 13 लाख सहित उनलाई नियन्त्रणमा लिई सम्बन्धित मोटरसाइकल सहित थप कारवाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक देवेन्द्र बहादुर सिंहले जानकारी दिएका छन् ।
त्यस्तै त्यही गुल्मको अर्को टोलीले वीरगन्ज–१६ स्थित भन्सार गेट नजिकै शरीरमा लुकाई ल्याइएको रू.५ लाख सहित एक जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला बारा, प्रसौनी गाउँपालिका–२ घर भएका ४० वर्षीय कौशल कुमार गुप्तालाई ना ४७ प ९७१० नम्बरको कालो/नीलो रंगको हीरो ग्लामर मोटरसाइकल सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा पठाइएको जनाइएको छ ।









