मकवानपुर प्रहरीले मकवानपुरको राक्सिराङ गाउँपालिका–१ मा एक जनालाई लागू औषध सहित हातहतियार साथमा पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय मकवानपुर अनि बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाबाट खटिएको संयुक्त टोलीको सूचनाका आधारमा घर खानतलासी गर्दा राजु स्याङतानको घरमा १ थान इटालियन पेस्तोल (7.65 MM, Universal made in Italy, साथमा म्यागजिन सहित), १ थान कटुवा पेस्तोल, १३ राउण्ड गोली, १ किलो ३१० ग्राम अफिमजस्तो पदार्थ, अनि २२ किलो ८०० ग्राम गाँजासमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै, घरको नजिक चन्द्रलाल मोक्तानको बारीमा रूखको फेदमा प्लास्टिकमा बेरिएको बोराभित्र थप १ थान घरेलु कटुवा पेस्तोल, ५ राउण्ड गोली अनि १ किलो ४८० ग्राम अफिमजस्तो पदार्थसमेत बरामद गरिएको जनाइएको छ ।
राजु स्याङतानलाई नियन्त्रणमा लिई जिल्ला अदालत मकवानपुर, हेटौडाबाट ७ दिनको म्याद थप गराई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









