वीरगंज उद्योग वाणिज्य संघमा महिला उद्यमशीलता सहायता कक्षको एक विशेष समारोहका बीच उदघाटन गरिएको छ ।
समारोहका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानीले रिबन काटेर सहायता कक्षको उदघाटन गर्दै महिला सशक्तिकरण र आत्मनिर्भरता अभिवृद्धिका लागि यस्तो पहल आवश्यक र सराहनीय भएको उल्लेख गर्नुभयो । उहाँले महिलाहरुले उद्यमशिलता तर्फ देखाएको अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्दै संघको यो पहलले नयाँ सम्भावनाको ढोका खोल्ने विश्वास व्यक्त गर्नुभयो ।
वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद गौतमको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष गौतमले संघले आगामी दिनमा महिला उद्यमीलाई आवश्यक सहयोग र सहजीकरण गर्दै जाने प्रतिवद्धता ब्यक्त गर्नुभयो । महिला उद्यमीहरुको सशक्तीकरण र व्यवसायिक क्षमता अभिवृद्धि, बजार पहुँच, तालिम तथा आवश्यक परामर्श प्रदान गर्नका लागि सहायता कक्ष सञ्चालन गरिएको भन्दै महिलाहरुको योगदान बिना कुनै पनि आर्थिक विकास सम्भव नरहेको बताउनु भयो ।
वीरगंज महानगरपालिका कार्यालयका प्रशासकीय अधिकृत अरबिन्दलाल कर्णले सहायता कक्ष सञ्चालनका लागि महानगर आवश्यक स्थान उपलब्ध गराउने भन्दै नगरपालिकाले यस्ता कार्यक्रमप्रति संधै सकारात्मक सहयोग रहने धारणा व्यक्त गर्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक हरि पौडेलले महिलाहरुमा उद्यमशीलताको भावना जागृत गराउन र उनीहरुलाई स्वरोजगारतर्फ उन्मुख गराउन सहायता कक्षले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
संघले स्थापना गरेको महिला उद्यमशीलता सहायता कक्षमार्फत महिलाहरुलाई व्यवसायिक सल्लाह, तालिम, जानकारी तथा प्रोत्साहन प्रदान गरिने महिला उद्यमशीलता सहायता कक्षका सहजकर्ता संजु कलवारले बताउनु भयो ।
कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय पर्साका प्रमुख पवन पंजियार, वीरगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव राजपाल, उपाध्यक्ष आशिष लाठ, कोषाध्यक्ष अनोज रुंगटा, सहसचिव अनुप अग्रवाल, महिला समृद्धि नेपाल कार्यक्रम मधेश प्रदेशका सदस्य डा.बासुलाल कर्ण लगायत संघका पदाधिकारी तथा व्यवसायीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।









