२०८२ फाल्गुन ३० गते शनिबार

वीरगञ्जमा विद्युत् सेवा अनियमितताविरुद्ध जनमत पार्टीको विरोध, प्राधिकरणलाई ध्यानाकर्षण पत्र बुझाउँदै चेतावनी

 

पर्सा जिल्लामा पछिल्ला दिनहरूमा बढ्दै गएको अनियमित विद्युत् कटौती, लोडसेडिङ, पावर कट र भोल्टेज समस्याविरुद्ध जनमत पार्टी पर्साले शुक्रबार नेपाल विद्युत् प्राधिकरण, वीरगञ्ज वितरण केन्द्रमा ध्यानाकर्षण पत्र बुझाउँदै औपचारिक विरोध जनाएको छ।

ध्यानाकर्षण पत्रमार्फत पार्टीले विद्युत् सेवा जस्तो आधारभूत आवश्यकताको चरम लापरबाहीले सर्वसाधारण जनतालाई गम्भीर असर पारिरहेको भन्दै तत्काल सुधारका लागि दबाब दिएको हो।

जनमत पार्टी पर्साका जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफका अनुसार, यदि समस्याहरू तत्काल समाधान नभएमा पार्टीले चरणबद्ध रूपमा जनस्तरबाट कडा आन्दोलन सुरु गर्ने चेतावनीसमेत दिएको छ।
“पर्साका गाउँ–सहरबाट जनता र कार्यकर्तालाई एकजुट गरी सडकदेखि कार्यालयसम्म दबाबमूलक कार्यक्रमहरू सञ्चालन गरिनेछ,” सर्राफले बताए।

ध्यानाकर्षण पत्रमा उल्लेख गरिएअनुसार, पर्सा जिल्लामा बिनानोटिस अकस्मात् विद्युत् कट हुने, घण्टौँसम्म लाइन नआउने, बारम्बार पावर कट हुने, तथा भोल्टेज अत्यधिक घटबढ हुँदा घरायसी उपकरण जलेर बिग्रने जस्ता समस्याहरू दिनप्रतिदिन बढ्दै गएका छन्।

पार्टीले यस्तो अवस्था जनताको अपमानको रूपमा व्याख्या गर्दै विद्युत् प्राधिकरणको कार्यशैलीमा गम्भीर सुधार ल्याउन आग्रह गरेको छ। साथै, समस्या समाधानका लागि सार्वजनिक समयसीमा निर्धारण गर्नुपर्ने माग पनि राखिएको छ।

कार्यक्रममा जिल्ला समिति सदस्यहरू, स्थानीय नेतागण, तथा नागरिक समाजका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM