“प्लाष्टिक प्रदूषण अन्त्य गरौं” भन्ने नारासहित वातावरण संरक्षण र जलवायु परिवर्तनबारे सचेतना फैलाउने उद्देश्यले वीरगञ्जमा विशेष कार्यक्रम सम्पन्न भएको छ ।
लिभिङ विथ इनभायरोमेन्ट पर्सा र उत्तम नेपालको संयुक्त आयोजनामा भएकाे कार्यक्रममा स्कुलस्तरीय सचेतनामूलक गतिविधिमा सक्रिय सहभागिता जनाएका ११ विद्यालयका विद्यार्थीलाई प्रमाणपत्रसहित पुरस्कृत गरिएको हाे ।
पुरस्कृत विद्यालयहरूमा सुर्जी देवी माध्यमिक विद्यालय, रेलवे माध्यमिक विद्यालय, शारदा माध्यमिक विद्यालय, त्रिभुवन हनुमान माध्यमिक विद्यालय, त्रिजुद्ध महावीरप्रसाद रघुवीरराम माध्यमिक विद्यालय, माइस्थान विद्यापीठ, रामचरण साह पन्नालाल माध्यमिक विद्यालय, श्री नेपाल राष्ट्रिय विद्यापीठ, नृसिंह माध्यमिक विद्यालय, सिद्धार्थ माध्यमिक विद्यालय र नेरा माध्यमिक विद्यालय नगवा रहेका छन् ।
लिभिङ विथ इनभायरोमेन्टका क्षेत्रीय अध्यक्ष एवम् उत्तम नेपालका संस्थापक फीरोज अन्सारीको अध्यक्षतामा विद्यार्थीहरूलाइ पुरस्कार प्रदान गरिएकाे हाे । उत्तम नेपालका अध्यक्ष बित्तु कुमार गुप्ता र लिभिङ विथ इनभायरोमेन्टका संयाेजक लक्की वर्णवालले कार्यक्रमकाे संयाेजन गरेका थिए ।
कार्यक्रममा प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरीले वातावरण संरक्षणका लागि दीर्घकालीन सचेतना आवश्यक रहेको उल्लेख गर्दै भने, “एक दिनमात्र कार्यक्रम गरेर वातावरण सुधार सम्भव छैन, वातावरणमैत्री बानी अपनाएर आफूबाटै परिवर्तन सुरु गर्न आवश्यक छ ।”
बिपिसी कलेजका सहायक क्याम्पस प्रमुख अर्विन्द श्रेष्ठले विद्यालय र कलेज स्तरबाट वातावरणमैत्री अभ्यास सुरु गर्नुपर्नेमा जोड दिँदै विद्यार्थीमार्फत समाजमा सकारात्मक सन्देश फैलाउने विश्वास व्यक्त गरे ।कार्यक्रमकाे सहजीकरण निरज पटेल र मुस्कान सर्राफले गरेका थिए ।









