जनमत पार्टीले पर्सा जिल्लामा संगठन सुदृढीकरणको अभियान अन्तर्गत संघीय निर्वाचन क्षेत्र नं. १ र २ मा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। वीरगन्जस्थित जिल्ला समन्वय समिति सभाहलमा आयोजित राष्ट्रिय परिषद समन्वय बैठक तथा प्रशिक्षण कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी तीन दर्जनभन्दा बढी नेता तथा कार्यकर्ताहरू जनमत पार्टीमा प्रवेश गरेका छन्।
नवप्रवेशीहरूलाई राष्ट्रिय परिषदका अध्यक्ष तथा संगठन विभाग प्रमुख डा. जयकान्त राउतले पार्टीको तर्फबाट टीका र माला लगाएर स्वागत गरेका थिए। पार्टीमा प्रवेश गर्नेहरूमध्ये सामाजिक क्षेत्रबाट सक्रिय महिलाहरू सुधा सिंह, सीमा सिंहसहित संजय साह, आकाश गुप्ता, सरोज यादव लगायतका तीन दर्जन युवाहरू रहेका छन्।
जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफका अनुसार पर्साको निर्वाचन क्षेत्र नं. १ र २ लाई लक्षित गरी अलग–अलग कार्यक्रम आयोजना गरिएको हो। यस कार्यक्रममार्फत पार्टीले स्थानीयस्तरमा संगठनलाई अझ मजबुत बनाउने प्रयास गरेको अध्यक्ष सर्राफले बताए।
उक्त अवसरमा पार्टीका केन्द्रिय सदस्यहरू अनुराग द्विवेदी, रम्भा मिश्रा, हरिहर साह, अनिता रौनियार, नजमा खातुन, राजेश चौरसिया, राष्ट्रिय परिषद सदस्य बृजकिशोर कलवार, महानगर अध्यक्ष महादेव शर्मा, पर्सागढी नगर अध्यक्ष मनोज यादव, क्षेत्र नं. १ का संयोजक गगनदेव यादव, १ (ख) का संयोजक डा. मनोज यादवलगायतका नेताहरूको उपस्थिति रहेको थियो।
पार्टीका अनुसार भोलि असार १२ गते क्षेत्र नं. ३ को प्रशिक्षण पोखरिया स्थित विशाल धर्मशालामा र क्षेत्र नं. ४ को प्रशिक्षण धोबिनी असवारीस्थित हनुमान धर्मशालामा हुने छ।
जनमत पार्टीको यो अभियानले मधेस प्रदेशमा संगठन विस्तार र स्थानीयस्तरमा जनाधार बलियो बनाउने संकेत गरेको विश्लेषण राजनीतिक वृत्तमा गरिएको छ।









