नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पार्टीको शिक्षा विभाग प्रमुख नैनसिंह महरले नेकपा एमाले नेतृत्वको सरकारमाथि कांग्रेस पार्टीलाई कमजोर बनाउने षड्यन्त्रमा लागेको आरोप लगाएका छन्।
वीरगन्जमा नेपाल प्रेस युनियन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महरले वर्तमान सत्ता गठबन्धन नेकपा एमाले र नेपाली कांग्रेसबीच भएको सात बुँदे सहमतिको आधारमा गठन भएको सरकार जनतामाझ कुनै सकारात्मक प्रभाव छोड्न असफल भएको बताए।
उनले भने, “सरकारले जनतामा उत्साह जगाउने खालका कुनैपनि काम नगरेको हुँदा कांग्रेस पार्टी समेत बदनाम भइरहेको छ। यसको असरले पार्टी झनै कमजोर बन्दै गएको छ।”
महरले पार्टीको आन्तरिक अवस्था बारे पनि चिन्ता व्यक्त गर्दै १५औं महाधिवेशन तोकिएको समयमा नहुने सम्भावना उच्च भएको बताए। उनले नेतृत्वले महाधिवेशनप्रति गम्भीर चासो नदेखाएको भन्दै सशक्त दबाब सिर्जना गर्न कार्यकर्ता र नेताहरूलाई आह्वान गरे।
पत्रकार सम्मेलनमा वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम, नेपाली कांग्रेसका पूर्व क्षेत्रीय सभापति विजय सर्राफ, प्रेस युनियनका केन्द्रिय सदस्य श्रीराम रायमाझी एवं विभिन्न मिडिया बाट आएका संचारकर्मीलगायतकाहरुको समेत उपस्थिति रहेको थियो।
कार्यक्रमको अध्यक्षता प्रेस युनियन पर्साका अध्यक्ष विजय चौहानले गरेका थिए। सम्मेलनमा सहभागी वक्ताहरूले वर्तमान राजनीतिक अवस्थाबारे आफ्ना धारणा राख्दै प्रेस स्वतन्त्रता, पार्टी संगठन र जनअपेक्षा सम्बोधनमा गम्भीर छलफल गर्नुपर्ने आवश्यकता औंल्याए। उक्त कार्यक्रम संचालन पत्रकार प्रहलाद चौरसियाले गरेका थिए।









