राजनीतिमा जब परिवर्तनको हुंकार युवाबाट सुरु हुन्छ, तब मुलुकको भविष्यमा आशाको उज्यालो देखा पर्न थाल्छ । पर्सा जिल्लामा यस्तै एक युवापुस्ताको आवाज बनेर उदाएका छन् सुधीर पटेल ।

२०७९ सालको प्रदेशसभा निर्वाचनमा पर्सा क्षेत्र नं. १ ‘क’ बाट स्वतन्त्र उम्मेदवार बनेका पटेल तत्कालीन प्रतिस्पर्धामा पराजित भए पनि जनताको मन जित्ने दौडमा भने अग्रस्थानमा देखिएका छन् । उनी भन्छन्, “राजनीति चुनाव जितेर मात्रै होइन, जनताको विश्वास जितेर पनि गरिन्छ ।” यही सोचसाथ उनी निरन्तर सामाजिक र विकास अभियानमा सक्रिय छन् ।
हार होइन, ऊर्जा बन्यो
चुनावमा अपेक्षित मत प्राप्त नभए पनि पटेलले त्यो ‘हार’लाई असफलता होइन, एक अवसरका रूपमा लिएका छन् । उनको व्यवहार, कार्यशैली र जनताको सुख–दुखमा सहभागिताले पर्सा जिल्लामा मात्रै होइन, मधेश प्रदेशकै युवाहरूमाझ उनी प्रेरणाको पात्र बन्दै गएका छन् ।
समाज सेवामा समर्पण
हालसम्म कुनै पनि पदमा नबसेका पटेल स्थानीय तहदेखि प्रदेशस्तरसम्मका सरोकारवाला निकायसँग समन्वय गरी गाउँ–टोलका साना–ठूला विकास योजनामा सक्रिय देखिन्छन् । शिक्षाको प्रवर्द्धन, स्वास्थ्यका चेतनामूलक कार्यक्रम, युवासशक्तिकरणका अभियान र सामाजिक न्यायको पक्षमा स्पष्ट अभिव्यक्ति दिँदै आएका छन् ।
युवाहरूको मन जित्दै
पछिल्लो समय युवापुस्ताले उनीमाथि बढ्दो विश्वास राख्न थालेका छन् । कार्यालयको भर परेर होइन, पटेल प्रत्यक्ष गाउँ–टोलमा पुगेर जनताको समस्या सुन्छन्, समाधान खोज्छन् र आवश्यक निकायमा पु¥याउँछन् । यही ‘जनतामै जाने’ शैलीले उनी राजनीतिक ‘नेता’ मात्र होइन, सामाजिक ‘पथप्रदर्शक’ का रूपमा स्थापित हुँदैछन् ।
नयाँ पुस्ताको नयाँ सम्भावना
राजनीतिमा अनुशासन, कार्ययोजना र दीर्घदृष्टिकोणको खाँचो भइरहँदा सुधीर पटेलजस्ता युवाको सक्रियता मधेशको राजनीति शुद्धीकरणतर्फको संकेत हो । उनले कुनै पदको लोभ नगरी आमजनताको बीचमा रहेर काम गर्दै आएका छन्, जुन लोकतन्त्रको मर्मअनुरूपको अभ्यास हो ।

उनले भन्छन्, “हामी नेतृत्वको लागि होइन, सेवाको लागि अघि बढेका हौं । पद आउँछ–जान्छ, तर जनताको माया र भरोसा सधैं रहन्छ ।”
निष्कर्ष
सुधीर पटेल आजको दिनमा कुनै पार्टीको झन्डा नभए पनि आमनागरिकको समर्थन र युवाको विश्वासमा स्थापित नाम बनेका छन् । यदि उनी यस्तै सक्रियता र सेवाको मार्गमा अगाडि बढिरहे भने निकट भविष्यमा उनी पर्साको नेतृत्व सम्हाल्ने सम्भावित अनुहार बन्न सक्नेछन ।









