२०८२ चैत्र ११ गते बुधबार

भारत–नेपाल सीमामा एसएसबीद्वारा चेकपोस्ट निर्माण सुरु, स्थानीयवासी आक्रोशित

 

भारत–नेपाल सीमाको रक्सौल पुलस्थित १० गज्जा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले आजदेखि अस्थायी चेकपोस्ट निर्माण कार्य सुरु गरेसँगै सीमा क्षेत्रमा पुनः विवाद सिर्जना भएको छ। यसअघि पनि मित्री पुल नजिकै भारतले यस्तै चेकपोस्ट बनाएको थियो, तर स्थानीयवासीहरूको तीव्र विरोधपछि हटाइएको थियो।

तर अहिले फेरि चेकपोस्ट निर्माण अगाडि बढाइएपछि सीमा क्षेत्रका बासिन्दाहरूमा असन्तोष चुलिएको छ। स्थानीयहरूले यस्तो कदमले भारत–नेपालबीचको आपसी मित्रता, सद्भाव र विश्वासमा खलल पुग्ने चेतावनी दिएका छन्।

“भारत र नेपालबीचको खुला सिमानामा यस्ता एकपक्षीय गतिविधिहरूले विश्वासमा चोट पुग्छ,”
एक स्थानीयका अनुसार, चेकपोस्टले आवत–जावतमा अवरोध, दोहोरो निगरानी, र सहज सम्बन्धमा अविश्वासको वातावरण सिर्जना गर्ने खतरा छ। भारत–नेपाल जनस्तरको ऐतिहासिक सम्बन्धमा दूरी बढ्न सक्ने संकेत पनि देखिन थालेको छ।

यस विषयमा नेपाल सरकार वा स्थानीय प्रशासनले अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्। यता नागरिकस्तरमा भने, सीमा सुरक्षाका विषयमा आपसी छलफल र सहकार्यमार्फत समाधान खोजिनु पर्ने आवाज बुलन्द हुँदै गएको छ।

स्थानीय बासिन्दाहरूले नेपाल सरकारसँग आग्रह गरेका छन् कि सीमा सम्बन्धी यस्ता संवेदनशील मामिलामा कूटनीतिक पहल गरेर स्थिति समाधान गर्न आवश्यक छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM