वीरगंज युवा समाजको आयोजनामा स्थानीय होटल मकालुको सभाहलमा सम्मान तथा टी-सर्ट वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष सञ्जीव थापाले गर्नुभयो भने प्रहरी उपरीक्षक गौतम मिश्र प्रमुख अतिथि रहनुभयो।
कार्यक्रमको मुख्य आकर्षण रहेका सचिन मेहता, जो त्रिजुद्ध माध्यमिक विद्यालयका छात्र हुन्, यस वर्षको SEE परीक्षामा 4 GPA ल्याउने पर्सा जिल्लाभरिका सामुदायिक विद्यालयहरूमा एक मात्र विद्यार्थी बनेका छन्। समाजले उनको यो उपलब्धिको कदर गर्दै नगद रु. ५१००/-, सम्मानपत्र, र दोसल्ला ओढाएर सम्मान प्रदान गर्यो।
कार्यक्रममा Public Tech Foundation द्वारा प्रायोजित टी-सर्ट समाजका अध्यक्षलाई फाउन्डेशनका निर्देशक महावीर जैसवालले हस्तान्तरण गर्नुभयो। त्यसपछि प्रमुख अतिथि, अध्यक्ष र अन्य विशिष्ट अतिथिहरूले समाजका सम्पूर्ण सदस्यहरूलाई ती टी-सर्टहरू वितरण गरे।
कार्यक्रममा पर्सा जिल्ला फुटबल संघका अध्यक्ष रोशन गुप्ता, फोटो पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष पंकज श्रेष्ठ, डा. मनोज उपाध्याय, डा. प्रीति यादव, सुभद्रा राणा भट्टराई, विनोद धिमाल, पूर्ण गुरुंग, मनोज गुप्ता लगायत थुप्रै विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको सहजिकरण वीरगंज युवा समाजका सल्लाहकार मार्टिन मोक्तानले गर्नुभएको थियो।
समाजका अध्यक्ष थापाले आगामी दिनमा पनि यस्तै प्रतिभाशाली विद्यार्थीहरूलाई प्रोत्साहन गर्दै सामाजिक उत्तरदायित्वमा योगदान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।









