पर्सा फोटोग्राफर एशोसिएसनद्वारा आयोजित प्रथम अधिवेशन तथा तेस्रो जिल्ला साधारण सभा शुक्रबार वीरगंजको लक्ष्मीनारायण प्यालेसमा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा पर्सा जिल्लाका विभिन्न स्थानबाट आएका फोटोग्राफर तथा भिडियोग्राफरहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। अधिवेशनमा नयाँ सदस्यता, नविकरण प्रक्रिया तथा संगठन सुदृढीकरण सम्बन्धी महत्वपूर्ण छलफलहरू गरिएका थिए।
कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले फोटोग्राफर तथा भिडियोग्राफरको सीप अभिवृद्धि, तालिम तथा व्यावसायिक विकासमा महानगरले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले भने, “गएको वर्ष योजना लिएर आउन आग्रह गरिए पनि प्रतिनिधि उपस्थित नभए पनि यसपटक सक्रिय सहभागिता देखिनु सकारात्मक संकेत हो।”
कार्यक्रममा संघका पूर्व अध्यक्ष ओमप्रकाश कुशवाहाले फोटोग्राफी तथा भिडियोग्राफी व्यवसायमा आवद्ध सबैलाई संघमा आबद्ध भई एकताबद्ध रूपमा अघि बढ्न आग्रह गरे। साथै, उनले नयाँ सदस्यता लिन र नविकरण प्रक्रियामा सहभागी हुन विशेष आग्रह गरे।
यस अधिवेशनले पर्सा जिल्लाका फोटोग्राफर तथा भिडियोग्राफर समुदायबीच सहकार्य, समन्वय र सशक्तिकरणको नयाँ ऊर्जा थपेको सहभागिहरूले बताएका छन्।









