२०८२ चैत्र ११ गते बुधबार

“भोकैलाई आहार – एक प्रयास” : इम्प्रूभिङ वीरगंजको ‘रोटी बैंक’ योजना मार्फत दैनिक दर्जनौंलाई भोजन सेवा

“कोही भोकै न सुतोस्” भन्ने उद्देश्यका साथ सन् २०१७ मा स्थापना भएको सामाजिक संस्था ‘इम्प्रूभिङ वीरगंज’ ले आफ्नो बहुचर्चित योजना ‘रोटी बैंक’ मार्फत दैनिक दर्जनौं भोकैलाई खाना खुवाउँदै आएको छ।

संस्थाका संस्थापक शरण गुप्ताका अनुसार, यो योजना अन्तर्गत अस्पतालमा रहेका अति जरुरतमन्द, सडकमा रात कटाउँदै गरेका आगन्तुक तथा सम्बन्धविहीन असहाय व्यक्तिहरूलाई प्रत्येक साँझ ७ बजेदेखि ९ बजेसम्म खाना वितरण गरिन्छ।

हाल रोटी बैंकले प्रतिदिन ५० रुपैयाँ लागतमा ५० वटा खाना प्याकेट वितरण गर्दै आएको छ। यद्यपि, केही दिनमा सेवाग्राहीको संख्या बढेर ७० जनासम्म पुग्ने गरेको जानकारी प्राप्त भएको छ।

शरण गुप्ताले जनाएका छन्, “यो सेवा निरन्तरता दिन सक्षम नागरिकहरूले पनि सहयोग गर्दै आएका छन्। जनसहभागितामा आधारित यो अभियानको उद्देश्य हो — वीरगंजमा एकजनासमेत भोकै न सुतून।”

हालै मात्र दाता हिरा श्रेष्ठ, नीतु गुप्ता, दर्शन के.सी., आकाश सर्राफ, र बृजमोहन जस्ता व्यक्तित्वहरूले यो अभियानमा आफ्नो नाम दर्ता गराउँदै सक्रिय साथ दिएका छन्।

सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै इम्प्रूभिङ वीरगंजले यस्तो मानव सेवा मूलक कार्यमार्फत भोकमरी पीडितको जीवनमा आशाको दियो बालिरहेको छ।

आयोजक संस्था: इम्प्रूभिङ वीरगंज
योजना नाम: रोटी बैंक
सेवा अवधि: प्रत्येक साँझ ७ बजे – ९ बजे
लक्ष्य: कोही पनि भोकै न सुतोस्
स्थान: वीरगंजका विभिन्न सडकछेउ, अस्पताल परिसर लगायत ठाउँहरू

नारा: भूखसँग होइन, माया र भोजनसँग संघर्ष गरौं!

 

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM