२०८२ चैत्र ११ गते बुधबार

खानेपानी मन्त्री प्रदीप यादवद्वारा वीरगञ्ज खानेपानी संस्थानको छड्के अनुगमन, सेवा प्रभावकारिता बढाउन निर्देशन

 

संघीय सरकारका खानेपानी, सिँचाइ मन्त्री प्रदीप यादवले वीरगञ्जस्थित नेपाल खानेपानी संस्थानको कार्यालयमा छड्के निरीक्षण तथा अनुगमन गरेका छन्।

निरीक्षणका क्रममा मन्त्री यादवले संस्थानको समग्र कार्यप्रणाली, सेवा वितरणको अवस्था तथा कर्मचारीहरूको जिम्मेवारीबोधको समीक्षा गर्दै आम जनताको जीवनसँग प्रत्यक्ष जोडिएको सेवा भएकाले खानेपानी आपूर्ति प्रणालीमा निरन्तरता र प्रभावकारिता कायम राख्नुपर्नेमा विशेष जोड दिए।

हालसालै जलवायु परिवर्तनको प्रतिकूल असर विशेषगरी तराई–मधेस क्षेत्र र वीरगञ्ज महानगरपालिका क्षेत्रमा देखापरेको खानेपानीको अभावलाई उल्लेख गर्दै उनले चुनौतीलाई समाधान गर्न संस्थानले अन्य सरोकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा तुरुन्त सुधारात्मक कदम चाल्नुपर्ने बताए।

मन्त्री यादवले कर्मचारीहरूलाई जनसेवामा समर्पित भावनाका साथ अहोरात्र खटिन निर्देशन दिंदै, आवश्यक सल्लाह तथा सहयोगका लागि सम्बन्धित मन्त्रालयसँग निरन्तर सम्पर्कमा रहन आग्रह गरे।

“जनताको आधारभूत अधिकारका रूपमा सुरक्षित र पर्याप्त खानेपानीको पहुँच सुनिश्चित गर्नु सरकारको प्रमुख जिम्मेवारी हो,” मन्त्री यादवले भने, “यसका लागि सबै तहका सरकारी संयन्त्रहरू सजग, उत्तरदायी र परिणाममुखी बन्नुपर्ने आवश्यकता छ।”

उनको यो निरीक्षणले वीरगञ्ज लगायत मधेस क्षेत्रमा खानेपानी आपूर्तिको सुधार र समाधानका लागि सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM