बीपीएस +२ कलेजमा गुरुपूर्णिमाको अवसरमा आयोजित विशेष समारोह भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति दिँदै शिक्षकहरूप्रति सम्मान, कृतज्ञता र प्रेम प्रकट गरेका थिए।
समारोहलाई सम्बोधन गर्दै कलेजका शैक्षिक निर्देशक दीपक पटेलले भने, “शिक्षक भनेको केवल पठनपाठन गराउने व्यक्ति मात्र होइनन्, उनीहरू भविष्य निर्माण गर्ने मार्गनिर्देशक हुन्। यस्तो प्रकारको कार्यक्रमले विद्यार्थीमा कृतज्ञता, संस्कार र अनुशासनको भावना विकास गराउँछ।” उनले विद्यार्थीहरूको प्रस्तुति प्रति प्रशंसा प्रकट गर्दै यस्ता कार्यक्रमले समग्र विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।
त्यसैगरी, कलेजका एचआर डाइरेक्टर सन्दीप कुशवाहाले विद्यार्थीको प्रतिभा र आयोजकीय क्षमताको उच्च मूल्यांकन गर्दै भने, “हाम्रो कलेजले सधैँ व्यवहारिक शिक्षालाई प्राथमिकता दिँदै आएको छ। आजको कार्यक्रमले विद्यार्थीमा नेतृत्व, समन्वय र सृजनात्मकता विकास भएको देखिन्छ, जुन अत्यन्त सकारात्मक संकेत हो।”उहाँले यस्ता शिक्षक–विद्यार्थी सम्बन्धलाई अझ प्रगाढ बनाउने खालका कार्यक्रमहरूलाई संस्थागत रूपमा निरन्तरता दिइने जानकारी पनि दिए।
कार्यक्रममा विद्यार्थीहरूले नृत्य, कविता वाचन, नाटक तथा गीतमार्फत गुरुपूर्णिमा दिवसलाई भावनात्मक र स्मरणीय बनाएका थिए।समापनमा कलेज प्रशासनले शिक्षक समुदायलाई विशेष सम्मान प्रदान गर्दै शिक्षालाई मूल्य, संस्कार र प्रेरणाको मुख्य आधारका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।









