२०८२ फाल्गुन ३० गते शनिबार

नारायणी अस्पतालका चिकित्सकमाथि दुर्व्यवहारप्रति नेपाल चिकित्सक संघद्वारा विरोध

 

नारायणी अस्पताल, वीरगञ्जको आकस्मिक (ईमर्जेन्सी) कक्षमा कार्यरत डा. दीपककुमार चौरसिया लगायत चिकित्सकमाथि भएको नियोजित दुर्व्यवहारप्रति नेपाल चिकित्सक संघ, नारायणी शाखाले गम्भीर चिन्ता र आक्रोश व्यक्त गरेको छ।

संघद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ कि विगत केही समयदेखि “पत्रकार” दाबी गर्ने आबिद हुसैन नामक व्यक्ति र उनका सहयोगीहरू पटक–पटक अनुमति बिना आकस्मिक कक्षजस्तो संवेदनशील ठाउँमा जबर्जस्ती प्रवेश गर्दै, चिकित्सकमाथि क्यामेरा तेर्साउने, होहल्ला गर्ने र उनीहरूको मनोबल तोड्ने गतिविधि गर्दै आएका छन्।

यसक्रममा बिरामीहरूको उपचारमा बाधा पुग्नुका साथै गम्भीर अवस्थाका विरामीको ज्यानसमेत जोखिममा पर्ने अवस्था सिर्जना भएको संघको भनाइ छ। विशेष गरी मिति २०८२ सालको असार २८ गते राति र ३० गते दिउँसो भएका घटनाहरूले अशिष्टता र उदण्डपनको पराकाष्ठा पार गरेको संघले उल्लेख गरेको छ।

प्रेस विज्ञप्तिमा आकस्मिक कार्यस्थलमा अनुमति विना प्रवेश गर्नु, फोटो–भिडियो खिच्नु, चिकित्सकमाथि अनर्गल आरोप लगाउनु र अभद्र व्यवहार प्रदर्शन गर्नु कानुनी दृष्टिकोणले पनि आपराधिक कार्य भएको जनाइएको छ।

नेपाल चिकित्सक संघ, नारायणी शाखाले यस्ता घटनाको कडा भर्त्सना गर्दै सम्बन्धित पक्षलाई कडा कारबाहीको माग गर्दै चिकित्सकहरूलाई कार्यस्थलमा सुरक्षित वातावरण सुनिश्चित गरिनुपर्नेमा जोड दिएको छ।

 

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM