मधेश प्रदेशको वीरगञ्ज क्षेत्रमा चर्किँदै गएको पानी संकट समाधानको कामना गर्दै ऐतिहासिक गहवामाई मन्दिर प्राङ्गणमा ‘पर्जन्य (वृष्टि) यज्ञ’ सुरु गरिएको छ।
स्थानीय धार्मिक विश्वास अनुसार वर्षा नहुनुको कारण ईन्द्रदेव असन्तुलन भएको मानिँदै आएको छ। सोही सन्दर्भमा वर्षा ल्याउनका लागि पारम्परिक वैदिक विधिबाट पर्जन्य यज्ञको आयोजना गरिएको हो। यज्ञ मार्फत प्राकृतिक रूपमा पानीको वर्षा होस् र जनताको दुःख हटोस् भन्ने कामना गरिएको छ।
उक्त यज्ञ कार्यक्रममा माईस्थान मन्दिर संचालन समितिका अध्यक्ष नरेन्द्र साह, नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री राजेन्द्र बहादुर आमत्य, तथा मन्दिरका मुख्य पूजारीसहित अन्य श्रद्धालुहरूको विशेष उपस्थिति रहेको थियो।
मुख्य पूजारीका अनुसार यज्ञमा वेद–मन्त्र उच्चारणसहित होम, आहूति, र प्रार्थना गरिँदैछ। यज्ञमा नगरबासी, महिला समूह, युवा क्लब र स्थानीय जनप्रतिनिधिको समेत सहभागिता रहेको छ।
नेता राजेन्द्र बहादुर आमत्यका भनाई अनुसार “पानी संकट समाधानका लागि वैज्ञानिक उपायहरूसँगै धार्मिक आस्था र सामूहिक प्रार्थनाले पनि प्रभाव पार्न सक्छ भन्ने विश्वासले हामी यहाँ उपस्थित भएका छौं।”
वर्षा अभावका कारण वीरगञ्ज लगायतका क्षेत्रमा खानेपानी आपूर्तिमा गम्भीर समस्या देखिएको छ। सरकारका तर्फबाट ट्याङ्कर र वारुणयन्त्रमार्फत आपूर्ति भईरहे पनि दीर्घकालीन समाधानको पर्खाइमा जनता छन्।
गहवामाई मन्दिर परिसरमा भइरहेको पर्जन्य यज्ञले जनचासो र धार्मिक भावनालाई एकसाथ जोडेको देखिएको छ।









