माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४.० जीपीए हासिल गरेका पर्साका ८ जना उत्कृष्ट विद्यार्थीहरूलाई आज एक विशेष कार्यक्रममार्फत सम्मान गरिएको छ।
कार्यक्रम अभिभावक संघ पर्साको आयोजनामा वीरगञ्जस्थित वि.पी.सी. कलेजमा सम्पन्न भयो।
मुख्य अतिथि मधेश विश्वविद्यालयका उपकुलपति प्रो. डा. दीपक शाक्यले विद्यार्थीलाई बधाई दिँदै विदेश वा राजधानी धाउनुपर्ने सोच गलत भएको बताए।
उनले भने, “वीरगञ्जमा पनि काठमाडौँ सरह स्तरीय र भरपर्दो शिक्षा उपलब्ध छ। खर्च पनि तुलनात्मक रूपमा कम छ, त्यसैले आफ्नै ठाउँमा बसेर अध्ययन गर्नु उपयुक्त हुनेछ।”
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्र, इनोभेटिभ सोसाइटी बिरगंजका अध्यक्ष कमल चौगाई, त्रिजुद्ध विद्यालयका प्राध्यापक नवीन मिश्र एवं संचारकर्मीहरु लगायतको उपस्थिति थियो।
यो सम्मानले जिल्लामा उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहन गर्नुका साथै स्थानीय स्तरमै गुणस्तरीय शिक्षा सम्भव छ भन्ने सन्देश दिएको आयोजकहरूले बताएका छन्।









