२०८२ चैत्र १० गते मंगलवार

वीरगंजमा १२ औं निशुल्क भोजन शिविर सम्पन्न, मानवसेवामा हातेमालो गर्न वरिष्ठ अधिवक्ता उपाध्यायको अपिल

 

“दिनदुखी र असहायको सेवा नै मानवताको सच्चा धर्म हो,” भन्दै वरिष्ठ अधिवक्ता तथा समाजसेवी प्रकाश उपाध्यायले सबैलाई मानवसेवा अभियानमा हातेमालो गर्न आह्वान गरेका छन्।

कुम्हालटोल टोल सुधार समाज, वीरगंज–७ द्वारा आज रेल्वे रोडस्थित पञ्चमुखी हनुमान मन्दिर (सामुदायिक प्रहरी कुम्हालटोल) अगाडि आयोजित १२ औं निशुल्क भोजन शिविरमा बोल्दै उनले यस्ता सेवा–कार्यले समाजमा सकारात्मक ऊर्जा फैलाउने र पीडितलाई राहत दिने उल्लेख गरे।

उपाध्यायले भने, “विगत १ वर्षदेखि गुणस्तरीय, पोषणयुक्त र सम्मानजनक भोजन खुवाउँदै आएको कुम्हालटोल समाजको यो सेवा अत्यन्तै प्रेरणादायी छ। आज म स्वयंसेवक भएर सेवा दिन पाउँदा आत्मसन्तुष्टि मिलेको छ। यस्तो सुकार्यको निरन्तरता हुनु अत्यावश्यक छ र म सदैव साथ दिन तयार छु।”

कार्यक्रममा कुम्हालटोल टोल सुधार समितिका अध्यक्ष नन्दलाल राउत अहिरले हालसम्म भोजन शिविर प्रत्येक महिनाको पहिलो शनिबार सञ्चालन हुँदै आएको र अबदेखि हरेक १५ दिनमा एक पटक तथा सम्भव भए हरेक शनिबार आयोजना गर्ने तयारी भइरहेको जानकारी दिए। उनले यो सेवा समाजका पदाधिकारी र दाताहरूको सहयोगमा सञ्चालन हुँदै आएको भन्दै अझ प्रभावकारी बनाउन सहयोगी हातहरूको हातेमालो आवश्यक रहेको बताए।

त्यसैगरी समाजसेवी नवराज भट्टराईले यस्ता कार्यहरूले मानवताको मजबुत आधार तयार गर्ने उल्लेख गर्दै सम्पूर्ण टोलवासी तथा युवाहरुलाई सक्रिय सहभागी बन्न आग्रह गरे।

भोजन शिविरमा बाटो हिँड्ने पैदल यात्री, रिक्सा–इरिक्सा चालक, ठेलागाडा व्यवसायी तथा असहायहरूलाई दाल–भात, परवल–आलु–चना तरकारी र भुटेको हरियो खुर्सानीको अचारसहितको स्वादिष्ट भोजन वितरण गरिएको थियो।

कार्यक्रममा अधिवक्ता प्रकाश उपाध्याय, वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, कंचनजंघा स्कूलका निर्देशक मार्टिन मोक्तान, समाजसेवी मदन यादव, अमरटोल टोल सुधार समितिका सचिव नवराज भट्टराई, समाजका सचिव हेमन्त शाक्य, कोषाध्यक्ष बैधनाथ साह, सह–सचिव रितेश गुप्ता, सल्लाहकारहरू श्रवणबहादुर रायमाझी, गोबिन्द ताम्राकारलगायत समाजसेवी र स्थानीय युवाहरूको उल्लेखनीय उपस्थिति थियो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM